बुटवल-नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन्।
प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते भएका हुन्। उनको नाकको हड्डी फ्याक्चर भएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कांग्रेस नेता मातृका यादवले जानकारी दिए।
मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको यादवले बताए।
घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुन्। आक्रमण भएपछि मतगणना स्थगित भएको छ। मतगणनामा हार्ने निश्चित भएपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए।