काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्र अधिवेशन हुँदैछ। देश संघीय व्यवस्थामा गएसँगै कांग्रेसले पहिलोपटक प्रदेश निर्वाचन क्षेत्र अधिवेशन गर्दैछ। देशभर ३३० वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्।
कांग्रेस विधानअनुसार प्रदेश निर्वाचन क्षेत्र अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्। नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत सदस्य मनोनीत गर्नेछन्।
केही जिल्लामा कांग्रेसका वडा अधिवेशनसमेत हुन सकेको छैन। त्यसैले एकैपटक ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन हुनेछैन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ३ मा अधिवेशन हुन नसकेका प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउने बताए।
उनका अनुसार आज प्रदेश निर्वाचन क्षेत्र अधिवेशन उद्घाटन तथा उम्मेदवारी दर्ता हुनेछ। आज उम्मेदवारी निर्विरोध नभएका प्रदेश निर्वाचन क्षेत्रमा शनिबार मतदानमार्फत निर्वाचित गरिने उनले जानकारी दिए।
प्रदेश निर्वाचन क्षेत्र अधिवेशनले कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ।