बुटवल-आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस। नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन्।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भएको थियो। प्रस्तुत छ, उनीसँग नजिक भएका यस क्षेत्रका कम्युनिष्ट नेताका सम्झना र उनका छोराको बाबुप्रतिको दृष्टिकोण।
२०२८ सालको कुरा हो। नेपाल कम्युनिष्ट पार्टीको कार्यालय भारतको वनारसमा थियो। संस्थापकमध्येका एक पुष्पलाल भारतको वनारसमा बस्थे। उनी पार्टीको महासचिव थिए। नेपालका घटनाक्रम, राजनीतिक प्रभाव, कम्युनिष्ट पार्टीको संगठन विस्तारजस्ता कुराको जानकारी अहिलेजस्तो छिनभरमा हुँदैनथ्यो।
चिठी लिएर मान्छे नै पुग्नुपथ्र्यो। चिठी पनि जसले पायो त्यसैले लैजाने कुरा हुँदैनथ्यो। विश्वासिलो र पार्टीका सबैले विश्वास गर्नसक्ने व्यक्ति हुनुपथ्र्यो। रुपन्देहीबाट गोपाल भट्टराईले चिठी ल्याउने, लैजाने गर्थे। पार्टीले यही जिम्मेवारी दिएको थियो उनलाई। उनी इमान्दार र भरपर्दा व्यक्ति मानिन्थे।
पुष्पलाललाई यही मौकामा राम्रोसँग चिन्ने, उनका आनीबानी, स्वभाव र विचार, दर्शन जान्न पाए भट्टराईले। वनारस जाँदाआउँदा सम्बन्ध विस्तार भयो।
‘व्यक्तिगत कुराकानी पनि सोध्नुहुन्थ्यो, पार्टीको संगठन कसरी चलिरहेको छ, के छ अवस्था भनेर सोध्नुहुन्थ्यो,–भट्टराई सम्झिन्छन्–उहाँ एकदमै सरल र व्यक्तिको मनोविज्ञान कस्तो छ भनेर जाँचबुझ गर्नुहुन्थ्यो।’
पार्टीका प्रशिक्षणहरुमा पनि गोपालले पुष्पलाललाई भेटे। ‘उहाँका कुरा सुन्न हामी लालायित हुन्थ्यौं, उहाँका विचारले एकदमै प्रभाव पारेको थियो, नेपालको आन्दोलनका निम्ति सिद्धान्त पहिलो कुरा, संगठन दोश्रो र संघर्ष तेश्रो कुरा हो भन्नुहुन्थ्यो–उनी भन्छन्।
पुष्पलाललाई नजिकबाट चिन्ने अर्का नेता हुन् नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका पहिलो जिल्ला सचिव देवेन्द्र घिमिरे। उनले पुष्पलाललाई प्रभावशाली र वैचारिक रुपमा कडा नेताको रुपमा चिने।
‘प्रवासमा बसेर पनि राष्ट्र र कम्युनिष्ट आन्दोलनको झण्डालाई झुक्न नदिइकन उचो राखिरहनुभयो,–उनी भन्छन्–मुलुकको सबै शक्ति नमिली मुख्य शक्ति वा दुश्मनलाई परास्त गर्न सकिन्न भन्नुहुन्थ्यो, सबै मिल्ने हो भने मात्रै विजय हासिल गर्न सकिन्छ भन्नुहुन्थ्यो, उहाँले देख्न त पाउनुभएन, तर उहाँले भनेकै बाटोमा मुलुक अघि बढेर यहाँसम्म आइपुग्यो।’
कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा पुष्पलालले मुलुकमा सामन्तवादको अन्त्य गर्न जरुरी छ भन्ने कुरा जोड दिएर बताउने गरेको घिमिरे बताउँछन्।
‘समाजमा वर्गहरु छन्, जातिहरु छन्, गरिब किसानहरु मजदुर छन्, उनीहरुकहाँ जानुपर्छ उनीहरुलाई हेरेर हामीले काम गर्नुपर्छ भन्ने कुरा गर्नुहुन्थ्यो–उनले सम्झिए–मुलुकलाई अगाडि बढाउन सामन्तवाद राजतन्त्रलाई समाप्त पार्नुपर्छ भन्नुहुन्थ्यो।’
२०३३ सालमा मुक्तिमोर्चा बनाएर अलग हुने समूहमा देवेन्द्र घिमिरे पनि थिए । पछि २०४७ सालमा फेरि पुष्पलालको स्मृति दिवसमा आन्दोलनको लागि सबै कम्युनिष्ट एकै ठाउँमा आएको उनले बताए।
धेरै समय प्रवासमै बसेका पुष्पलाल नेपाल आगमनको क्रममा एकाध पटक रुपन्देही पनि आएका थिए। पञ्चायतकालको प्रतिबन्धको व्यवस्था हुँदा हल्लाखल्ला नगरी रुपन्देहीमा केही कार्यकर्ता भेटेर पूर्वतर्फ जाने गरेको नेता गोपाल भट्टराई सम्झन्छन्।
रुपन्देहीका अर्का पूराना कम्युनिष्ट नेता रामचन्द्र भट्टराईको पनि पञ्चायतकालको सुरुवाततिर पुष्पलालसँग भेट भइरहन्थ्यो। ‘उहाँ धाराप्रवाह प्रवचन दिने, सिद्धान्तकार, विद्धान हुनुहुन्थ्यो, धेरै सहनशील र उदार हृदयको मान्छे हुनुहुन्थ्यो–उनले भने–पुष्पलालले कम्युनिष्टको बोट रोप्नुभयो, अहिले भएका अरु कम्युनिष्ट पार्टी त्यसका हाँगा हुन्, जिन्दगी पार्टी र देशप्रति समर्पण गरेर बस्नुभएको थियो।’
भट्टराइले पुष्पलालको निधनपछि शव यात्रामा पनि आफु गएको सुनाए। ‘उहाँको शव यात्रामा पनि हामी सामेल भएका थियौं, भारतमा मृत्यु हुँदा उहाँको शव ल्याउन पनि यहाँको सरकारले दिएन–उनले सम्झे–अस्तु लिएर काठमाडौ आयौं, त्यो पनि सजिलो थिएन, उहाँको दाजु गंगालाललाई गोलीहानेर मारेको ठाउँमा सेलाएका थियौं, अस्तु सेलाउने बेलामा पनि म गएको थिएँ।’
पुष्पलालको निधनपछि उनकी पत्नी साहना प्रधान राजनीतिमा लागिन्। उनी पटक पटकमन्त्री र एमाले विभाजन भएर बनेको मालेको अध्यक्ष पनि भइन् । पछि माले र एमाले एक हुँदा पनि प्रभावशाली थिइन्। दोस्रो जनआन्दोलनपछि गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री भइन्। साहना प्रधान पछि पुष्पलालको परिवार राजनीतिमा देखिएको छैन। पुष्पलाल र सहानाका एक छोरा र एक छोरी छन्। छोरा उमेशलाल व्यापार व्यवसायमै रहेका छन्। हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष छन्।
राजनीतिमा आउने सम्भावना शून्यप्राय छ: उमेशलाल श्रेष्ठ
म १९ वर्षको हुँदा बुबा (पुष्पलाल श्रेष्ठ)को निधन भएको हो। चार वर्षको हुँदासम्म सँगै थिएँ। त्यसपछि बुबा निर्वासनमा जानुभयो। त्यसैले म जान्ने हुँदा बुबासँग कमैमात्र भेट्ने मौका पाएँ। जान्ने भएपछि सायद २ सय, ३ सय दिन पनि उहाँसँग बिताउन पाइन।
सालमा एकपटक मिनपचासको बिदा हुँदा भेट्न जान्थें। उहाँ साह्रै मृदुभाषी, कहिले नरिसाउने कमरेड भनेपछि ज्यानै दिन तयार हुने खालको हुनुहुन्थ्यो। मैले उहाँ रिसाएको कहिले पनि देखिन। निकै हसिलो मान्छे।
निधन हुनुभन्दा १५ दिन अघि मात्र बुबासँग भेट भएको थियो। अब ठीक हुँदैछ होला भन्ने लाग्यो। आमाले तिमी फर्केर जाऊ, हामी छौं भन्नुभयो। म फर्के। नेपाल फर्केर कामको सिलसिलामा पोखरामा थिएँ। त्यहीबेला धेरै सिरियस हुनुहुन्छ भन्ने खबर आयो। काठमाडौ गएर त्यहाँबाट फ्लाइटमा भारत गएँ। भारत पुग्दा उहाँको निधन भएको थाहा पाएँ।
उहाँको निधन भएपछि मात्र मैले उहाँका बारेमा धेरै कुरा थाहा पाएँ। मेरो बुवा त यस्तो हुनुहुँदो रहेछ भनेर। जतिजति उहाँको बारेमा थाहा पाउँछु त्यति–त्यति आदर बढ्दै जान्छ। बुबा भनेर मान्ने एउटा कुरा भयो। तर उहाँजस्तो आदर्श र त्यागी पुरुष सायदै थिएहोला।
२०३६ सालको आन्दोलमा म पनि लागेको थिएँ। केहीमोर्चाको नेतृत्व पनि गरें। त्यसपछि मलाई राजनीतिमा लाग्ने इच्छा लागेन। आमा (साहना प्रधान) पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। म एउटो छोरा घरमा कोही कमाइ गर्ने मान्छे नभएपछि मैले कमाइ गर्न सुरु गरें।
सबैले जिन्दावाद मुर्दावाद भन्दा घरमा चुलो नबल्ने भयो। बुबा र आमाले मुलुकको राजनीतिक परिवर्तन र समाजको लागि आफ्नो प्राणलाई दाउमा राख्नुभयो। मलाई चाँही अभाव भएर हो कि के हो ? अर्थतन्त्र ठीक नभएदेखि केही हुन्न भनेर ४२ वर्षदेखि उद्योग धन्दामा लागेको छु।
अब मेरो राजनीतिमा आउने सम्भावना शुन्यप्रायः छ। अहिले ६१ वर्षको भएँ। उमेरमा पनि अलि पाको भएँ। अब यो उमेरमा राजनीतिमा लाग्दिन। नेकपाका नेता कार्यकर्ताहरुले राजनीतिमा आउन पटक–पटक आग्रह गर्नुहुन्छ।
अझै पनि भनिरहनुहुन्छ पार्टीमा लाग्नपर्यो भनेर। म बिसौं वर्ष पार्टी बाहिरै बसें। अब पार्टीमा गएँ भने ठूलो मान्छेको छोरा छिट्टै माथि पनि पुग्छु होला। तर अरुको भाग खान म किन जाने ? आफ्नै काम गरेर बसिरहेको छु।