बुटवल। बुटवलको मुख्य बजारबाट दक्षिणपश्चिममा रहेको मोतिपुर क्षेत्र आइतबार दिनभर जसो तनाबग्रस्त रह्यो। साँझ ४ बजेदेखि रुपन्देही जिल्ला प्रशासनले अनिश्चित कालका लागि कर्फ्यु जारी नगर्दासम्म तनाब जारी रह्यो।
औद्योगिक क्षेत्र निर्माणस्थलमा बसोबास गर्न आएका ‘सुकुम्बासी’लाई हटाउन सकस परेपछि प्रहरीले गोली चलाएको थियो। अहिलेसम्मको सूचना अनुसार गोली लागेर चार जनाको मृत्यु भएको छ। सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते छन्।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले तीन जनाको उपचारका लागि अस्पताल पर्याउँदै गर्दा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको दाबी छ । ‘ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम हाने’ उनले भने, ‘त्यसपछि बाध्य भएर गोली चलाउनु परेको हो ।’
अहिलेसम्म मृत्यु हुनेमा कपिलवस्तु जिल्ला बाणगंगा १० का ४८ वर्षीय रमेश परियारको मात्र सनाखत भएको छ । अस्पतालका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
घाइते हुनेमा गुल्मी ४ रैतौलीका ३३ बर्षीय जंगबहादुर परियार, पाल्पा हुमिनका ३५ बर्षीय गम्भीरसिंह डिसा, तानसेन- १० पाल्पाका ३८ बर्षीय प्रेम बिक, नवलपरासी प्रतापपुरका २२ बर्षीय सरबेश केवटको अस्पतालले सनाखत गरेको छ। प्रहरीहरु २१ बर्षीय महेन्द्र वली, २२ बर्षीय निर शंकर केसी, २६ बर्षीय सुरेन्द्र रोकाया र ३० बर्षीय खगेन्द्रप्रसाद यादवको उपचार भैरहेको अस्पतालले जनाएको छ।
मोतिपुरमा कसरी दंगा सिर्जना भयो?
यो कुरा औद्योगिक क्षेत्र निर्माणसँग प्रत्यक्ष जोडिएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को १ चैत ०७२ को निर्णयबाट लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको साविक बुटवल नगरपालिका, टिकुलीगढ, आनन्दवन र फर्साटिकर गाबिसका केही भाग चार किल्ला तोकी ८ सय १३ बिगाहा क्षेफलमा मोतिपुर औद्योगिक क्षेत्र घोषणाबाटै स्थानीय चिढिएका थिए। यी क्षेत्र अहिले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकामा पर्छन्।
२१ जेठ ०७५ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले ९४६ दशमलव ४६ बिघा जग्गाको डिपिआर स्वीकृत गर्यो। तर, लिमिटेडले ८ सय १३ विगाह जग्गाको मात्र लालपूर्जा प्राप्त गरेको थियो। बाँकी १३३ दशमलव ४६ विगाह जग्गाको लालपूर्जा प्राप्त नभई औद्योगिक क्षेत्र डिपिआर अनुसार निर्माण हुन सक्दैनथ्यो। समस्या के थियो भने १३३ दशमलब ४६ बिगाहा जग्गामा बर्षौं देखि मानिसहरुको भोगचलनमा थियो।
जग्गाको लालपुर्जा पाइने आसामा बसिरहेका उनीहरु थाहै नपाई औद्योगिक क्षेत्रको डिपिआरभित्र समावेश भएपछि सशंकित भएका भएको स्थानीय बाबुराम घिमिरेले बताए। उठिबास हुने हो कि भन्ने भयले स्थानीयहरु राज्यसँग निरन्तर संघर्षमा थिए।
त्यो संघर्ष २२ फागुन २०७७ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा छर्लंग भएर आयो। ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरी आयोजना गरिएको उक्त कार्यक्रममा चिढिएका स्थानीयले ढुङ्गामुढा गरी तनाब सिर्जना गरे। मञ्चमै ढुङ्गा मुढा हुन थालेपछि पूर्वनिर्धारित कार्यक्रमलाई छोट्याएर हतारहतार शिलान्यास गरी पौडेल कार्यक्रमस्थलबाट बाहिरिएका थिए। उनी गएपछि शिलान्यासस्थल स्थानीयले भत्काइदिएका थिए। यसको संकेत विष्णु पौडेल र औद्योगिक क्षेत्र निर्माण कम्पनीका महानिर्देशक नन्दकिशोर बस्नेतले पहिलेदेखि नै पाइसकेका थिए किनभने त्यसअघि फागुन १३ गते तय भएको शिलान्यास कार्यक्रम रोक्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ज्ञापनपत्र पठाएका थिए। तर, त्यसबारे लिमिटेडले वास्तै गरेन। बरु स्थानीयको अवरोधलाई बलमिच्याइँ गरी मन्त्रीको उपस्थितीमा शिलान्यास गरिछाड्यो।
औद्योगिक क्षेत्र शिलान्यासका क्रममा मोतिपुर आएका तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टका अगाडी प्रदर्शन गर्दै स्थानीय तस्वीर: लुम्बिनी टाइम्स
"राज्यले औद्योगिक क्षेत्र निर्माण गरिरहँदा प्रभावित भएका स्थानीयको गुनासो नसुनिदिंदा त्यस्तो समस्या आएको थियो," स्थानीय घिमिरेले भने।
त्यही विवादको श्रृखलामा आइतबार चार जनाको ज्यान जाने गरी झडपमा परिणत भएको छ ।
दोस्रो लकडाउन र बर्खासकिएपछि ओद्योगिक क्षेत्रबाट असुरक्षित महसुस गरिरहेका स्थानीयले नदी उकास क्षेत्रमा 'सुकुम्बासी खुलेको' हल्ला पिटे। यसमा भू-माफियाहरुको पनि स्वार्थ मिलेकाले ठूलो भिड जुटाउन उनीहरुले सहयोग गरेको धेरैको तर्क छ। स्थानीयले यसो गर्नुको तात्पर्य आफूहरूलाई उठिबास लगाउनुअघि 'नयाँ सुकुम्बासी'को समस्याले राज्यलाई अल्झाओस् भन्ने थियो। यसरी केही सुरक्षित हुन सकिन्छ भन्ने उनीहरूको मनोविज्ञान थियो। "जग्गा उद्योगले लानु भन्दा सुकुम्बासी नै आएर बसुन् भन्ने यहाँका मानिसहरुको सोचाई आयो," स्थानीय छविलाल केसीले भने, "तर यसरी मानिस आउलान् भनेर कसैले सोचेको पनि थिएन। पछि केही मानिसहरुले निकै संगठित रुपमा जग्गा ओगट्न लागे।"
'सुकुम्बासी खुलेपछि' रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, गुल्मीलगायतका जिल्लाबाट पहिले नै बुटवल र आसपासका क्षेत्रमा बसिरहेका मानिसहरू आउन थाले। सुकुम्वासीका नाममा मोतीपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि भदौ २८ मा मोतिपुर औद्योगिक क्षेत्र वरपर जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको थियो। "औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुमबासी भेला गर्ने गरेको" कारण प्रशासनले देखाएको थियो।
तर, निषेधाज्ञा लामो समय टिक्न सकेन। स्थानीय र आगन्तुक 'सुकुम्बासी'ले बाँस गाढेर टहरा बनाउने र दिनभर कुर्न थाले। राती भने त्यहाँ कोही सुत्दैनथे।
गएको शुक्रबारसम्म करिब २०० बिगाहा क्षेत्रफलमा १२ हजार जनाभन्दा धेरै व्यक्तिहले जग्गा ओगटेर कुरिरहेको थिए। २ हजार वटा साना टहरा बनाइएको थियो।
सैनामैनाका सन्तोष चौधरीले छिमेकीबाट 'जग्गा खुलेको' थाहा पाएपछि मोतिपुर पुगेका थिए। उनी भाइ र भाउजुलाई लिएर त्यहाँ पुगेका थिए। बेलबासकी दुर्गा अधिकारीले युट्युबबाट 'जग्गा खुलेको' थाहा पाएकी थिइन्। छिमेकी दिदीहरुसँग मोतिपुर आएकी उनले त्यहाँ चटपट बेच्थिन्।
पछिल्लो हप्तादेखि झन्झन् थपिएका 'नयाँ सुकुम्बासी' प्रशासनको टाउको दुखाई बनिरहेको थियो। प्रहरी राती आउँथे, बिहान ४ बजेसम्म टहरा जलाइदिन्थे अनि फर्कन्थे। तर, ५ बजेपछि 'सुकुम्बासी'आउँथे र हिजो भन्दा दोब्बर टहरा बनाउँथे।
बितेका चारदिनदेखि यहीँ क्रम चलिरहेको थियो। तर आइतबार बिहान फरक रूपमा प्रशासन प्रस्तुत भयो। बिहान ५ बजेदेखिको घटनाबारे एक स्थानीय यसरी वर्णन गर्छन्, "बिहान ५ बजे टहरा कुर्न आउँदा हिजो अस्तीभन्दा धेरै प्रहरीहरू देखिए। टहरा जलाईदिएका रहेछन्। ठूला संरचनामा डोजर लगाइदिएका रहेछन्। केहीमा लगाइदिंदै थिए। हामीले के गर्ने भनेर निधो लिन सकेनौं। अरू मान्छे आउँदासम्म कुरेर बस्यौं। एकछिनपछि धेरै भेला भयौं र प्रहरीलाई त्यहाँबाट लखेट्ने भन्यौं। उनीहरू यसै फर्कने छाँटकाट देखाएनन्। हिजोअस्तिभन्दा निकै धेरैबेर बसिरहेका थिए। १० बजेतिर प्रहरीलाई घेरा हालेर भगाउने कोसिस गर्ने निधो भयो। हामी धेरै भेला भइसकेका थियौं। वरीपरिबाट हामीले घेरा हालिसकेका थियौं। उनीहरू टसमस भएनन्। कुटपिट गर्न लागे। लाठी चार्ज बर्साए। यताबाट पनि ढुङ्गामुढा हानेका थियौं। तर छिटै हाम्रो भिड तितरवितर पर्यो। तर कसरी हुन्छ उनीहरूलाई भगाउने भन्ने थियो। त्यसैले हामीहरू फेरि भिड जम्मा भयौं र प्रहरीको लाठीको प्रतिवाद गर्न लाग्यौं। उनीहरूले अश्रु हाने। एकछिन भिड तितरवितर भयो तर फेरि चाँडै नै एकठ्ठा भइहाल्यौं। ढुङ्गा मुढा चलिरहेको थियो। एक्कासी गोलीको आवाज सुनियो। दुईचार जना ढले। तर भिड उत्तिखेरै तितरवितर भयो। मेरो अगाडीबाट रगत बगाउँदै दौडिरहेको केटा केही पर पुगेपछि ढल्यो। प्रहरीले समातेर भ्यानमा हाल्यो।"
एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदैं प्रजिअ ऋषिराम तिवारीले भनेका छन्,"हामीले २८ गतेदेखि नै निषेधाज्ञा लगाएर पटकपटक उहाँहरुलाई जानकारी गराएको हो । र, त्यसमा हामीले पूर्वसतर्कता स्वरुप संवेदनशीलता र संयमता पनि अपनाई आएको अवस्था हो । त्यो अनुसार सुरक्षाकर्मी परिचालित भएको अवस्थामा प्रदर्शनकारीबाट आक्रमण भएको हो ।"
स्थिती तनाबपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ बजेदेखि अनिश्चित कालसम्मका लागि कर्फ्यू जारी गरेको छ। राज्य र नागरिक बीचको संवादहीनता यो घटनाको निकै ठूलो कारण बनेको छ। समस्या शुरूहुन भन्दाअघि नै स्थानीयसँग मिलेर समाधान खोज्ने प्रयास नै नगर्नुले दशैंका समयमा एउटा अप्रिय घटना घटेको हो। आइतबारको घटनापछि स्थानीयसँग राज्यले संवादको थालनी गरी समस्या पर्गलेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडी बढाउनुपर्ने आवश्यकता झनै बढेको छ।
-सुरक्षाको कारण देखाउँदै पहिचान लुकाइदिन आग्रह गरेपछि एक स्थानीयको नाम खुलाइएको छैन।