काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खपिरहेका उद्योगमन्त्री हमालले आइतबार बिहान राजीनामा दिने घोषणा गरेका हुन् ।
मन्त्री हमालले आफू विवादमा फस्न नचाहेकाले राजीनामा बुझाउन लागेको बताए । ‘म इमानको राजनीति गर्ने मान्छेलाई विवादमा तानियो । मन्त्री नहुँदैमा मलाई फरक पर्दैन । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउँछु,’ उनले भने ।
प्रधानमन्त्री देउवासँग राजीनामा स्वीकृत गर्नुको विकल्प नभएको बताए । ‘नेताहरूले राजीनामा नदिनुसु भन्नुभएको छ । तर, मैले आफ्नो विवेक प्रयोग गरेर राजीनामा दिने निर्णय गरेको छु,’ उनले भने ।
कांग्रेसको कोटाबाट नियुक्त भए पनि हमाल प्रधानन्यायाधीश जबराको सिफारिसमा मन्त्री बनेको भन्दै आलोचना भइरहेको छ ।