बुटवल-लुम्बिनी प्रदेशमा शुक्रबार हुने भनिएको मन्त्रिमण्डल विस्तार रोकिएको छ।
सत्ता साझेदार दल कांग्रेसले मन्त्री बन्नेको नाम टुंग्याउन नसकेपछि मन्त्रिमण्डल विस्तार रोकिएको हो। कांग्रेसले पाएका ४ मन्त्रालयमध्ये डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री बनिसकेका छन् भने अरुमा सहमति हुन बाँकी छ।
बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खा मन्त्री बन्ने सहमति भएपनि बाँकी १ जना मन्त्री र १ जना राज्यमन्त्रीको टुंगो लागेको छैन।
रुपन्देहीका अष्टभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागेको छैन। यस्तै राज्यमन्त्री को बन्ने भन्ने पनि टुंगो लाग्न बाँकी छ। अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठले दाबी गरेका छन्।
संसदीय दलले मन्त्री टुंगो लगाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले केन्द्रीय नेतृत्वसँग छलफल गर्ने कांग्रेस एक सांसदले बताए। सहमतिमै मन्त्रीको टुंगो लाग्ने कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले बताए।
माओवादी केन्द्रले भने मन्त्रीको टुंगो लगाएको छ। माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ।
राज्यमन्त्रीमा विमलाकुमारी खत्री वलीको टुंगो लागेको छ। माओवादीको भागमा परेको एउटा मन्त्रालय एकिकृत समाजवादीलाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतक समेत पाल्पाका तुलाराम घर्तीको नाम हटेको छ।
नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन्। समाजवादीकी उनी एक्ली सांसद हुन्।
एमाले नेता शंकर पोखरेलको सरकार अल्पमतमा परेर ढलेपछि साउन २८ गते माओवादी केन्द्रका कुलप्रसाद केसी ५ दलीय गठबन्धनको सहारामा मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेको दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै पार्टीभित्रैबाट उनको आलोचना हुन थालेको छ।