काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी साउन ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ। केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भनिएको थियो । तर फेरि ४ गते बस्ने भन्दै बैठक सारिएको हो।
शुक्रबार विहान ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश स्थायी कमिटी सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेकै बेला दिउँसो ३ बजेका लागि भनेर समय सारिएको थियो।
३ बजेका लागि बैठक सारेर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले अलग्गै छलफलमा बसेका थिए। स्थायी कमिटीका सदस्यहरु ३ बजेको बैठकका लागि प्रतीक्षामा रहेकै बेला ४ गते ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बैठक दुई दिनपछि साउन ४ गते ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएका छन्। प्रधानमन्त्री केपी ओली लाई हटाउने विषयमा केन्द्रित रहेको नेकपा स्थायी कमिटी बैठक बाढी पहिरोबाट मुलुक आक्रन्त भएको र राहत एवं उद्धारमा खट्न भन्दै एक हप्ताका लागि स्थगित गरिएको थियो।
यस अघि पनि पटक पटकस्थगित गरिएको बैठक शुक्रबार भने सञ्चालन गर्न बिहीबार अध्यक्षद्वय र नेता माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको थियो। तर आजै दुई पटक स्थगित गर्दै ४ गते आइतबारका लागि समय तोकिएको हो।
असार १० गतेदेखि जारी स्थायी कमिटीको पाँचौं बैठक आजै अन्त्य हुने बताइए पनि बैठक पुन सरेको छ। पार्टी भित्रको संकट व्यवस्थापनका लागि एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।
नेकपामा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न दबाब दिइरहेका दाहाल–नेपाल समूह पछिल्लो पटक ओलीले प्रधानमन्त्री मात्रै छाडेपनि हुन्छ भन्ने तहमा आइपुगेको छ ।
तर ओलीले भने आफूले कुनै पद नत्याग्ने अडान राख्दै सकेको गर्न दाहाल–नेपाल समूहलाई चुनौति दिइरहेका छन्।