काठमाडौं-नेकपा एमालेको आगामी महाधिवेशन बुटवलमा हुने भएको छ।
आगामी मंसिरमा हुने महाधिवेशन बुटवलमा हुने जानकारी विधान महाधिवेशनको समापनका अवसरमा पार्टी अध्यक्ष केपी ओलीले गराएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको छ। एमालेको पार्टी विधान अनुसार विधान महाधिवेशनले निर्वाचन आयोगको नेतृत्व गठन गर्नुपर्ने व्यवस्था भए बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय समिति प्रस्ताव गरेका थिए।
अध्यक्ष ओलीको प्रस्तावलाई सर्वसम्मतरुपमा एमाले विधान महाधिवेशनको हलले पारित गरेको हो।
एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष सुब्बासहित महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्सान लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमकला गैरे सदस्यहरुमा रहेका छन्।
विधान महाधिवेशनमा एमालेले पार्टीको एप्स् पनि सार्वजनिक गरेको छ । एमालेको एप्स्मार्फत पार्टी सदस्यताका लागि निवेदन फारम, नवीकरणदेखि पार्टीका सबै गतिविधिहरु नेता तथा कार्यकर्ताहरुमा जानकारी हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।