नेपालगञ्ज: नेपाली कांग्रेसको १४औँ महाधिवेसन अन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन ।
केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो । अब अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा बाँकेका आम कार्यकर्तामा रहेको छ ।
लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी रहेको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुङिगएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आँकलन गरेका छन् ।
मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलकको भनाइ छ । बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन् । जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ ।
दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।
भेरोसेलको खोप लगाइँदै
बाँकेमा तीन दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने भएको छ । जिल्लाका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट भेरोसेल खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।
उनका अनुसार ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई सो खोप लगाइने छ । यस्तै यसअघि उक्त खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने शर्माले जानकारी दिए । रासस