बुटवल-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार रुपन्देहीमा भएको गाउँनगर अधिवेशनमा कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ।
१६ पालिका रहेको रुपन्देहीका ६ वटा नगरपालिकामध्ये संस्थापन पक्षले ४ वटामा जित हासिल गरेको छ भने पौडेल पक्षले दुई वटामा जितेको छ।
रुपन्देहीको सदरमुकाम रहेको भैरहवाको सिद्धार्थनगर नगरपालिका, गृहमन्त्री बालकृष्ण खाणको गृह नगर तिलोत्तमा, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको नेतृत्व संस्थापन पक्षले जितेको छ।
तर लुम्बिनी प्रदेशको मुकाम बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा भने पौडेल पक्षले जितेको छ।
बुटवल उपमहानगरमा पौडेल पक्षका खेलराज पाण्डेको प्यानलबाट एक सहसचिव बाहेक सबैले जित हासिल गरेका छन्। त्यस्तै देवदहमा पनि पौडेल पक्षका गुणखर भुर्तेलले जितेका छन्। संस्थापन पक्षको जितेको तिलोत्तमामा हरिलाल पाण्डे, सिद्धार्थनगरपालिकामा कोसिस खड्का, सैनामैना नगरपालिकामा रणबहादुर खनालको प्यानलले जितेको छ।
त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकामा संस्थापन पक्षका मोहम्मह सइद खांको नेतृत्वमा सर्वसहमतिमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए।
त्यस्तै शनिबार नै निर्वाचन भएको रुपन्देहीको मायादेवी गाउँपालिकामा पदम भण्डारीको प्यालन विजयी भएको छ।
कञ्चन गाउपालिकामा भएको निर्वाचनमा देवीराम रेग्मीको प्यानलले नै जित हासिल गरेको छ। रोहिणी गाउँपालिकामा तारकनाथ योगीको प्यानल विजयी भएको छ।
शुद्धोधन गाउँपालिकामा भएको निर्वाचनमा दामोदर पौडेल विजयी भएका छन्। उनीहरू सबै संस्थापन निकट हुन्।
यस्तै गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरी सहित सबै टिम निर्विरोध निर्वाचित भएका छन्।
रुपन्देहीको समरीमई गाउँपालिकामा आइतबार नेतृत्व चयन हुने काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए।