बुटवल-नेपाली काँग्रेसको यही असोज ९ गते हुने गाउँनगर अधिवेशनमा रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले अलग–अलग उम्मेदवार चुनाबी मैदानमा उत्रिएका छन्।
रुपन्देहीको १६ वटा स्थानीय तहमध्ये धेरैमा केन्द्रीय रुपमा अलग समूह बनाएका देउवा र पौडेल समूहले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरेका छन्।
बुटवल उपमहानगर र तिलोत्तमा, देवदह, सैनामैना, सिनपा, लुम्बिनी साँस्कृतिक नगरपालिकामा दुवै पक्षले प्यानल तयार पारेर चुनाबमा होमिएका छन्।
जिल्लामा उम्मेदवार र मतदाता स्पष्ट रुपमा दुई गुटमा देखिएका छन्। कांग्रेसमा नयाँ नेतृत्वका लागि केन्द्रदेखि वडासम्म दुई गुटमा उम्मेदवारी, भेला, बैठक र चुनावी प्रचार देखिएको छ।
बुटवल उपमहानगरपालिकासगै जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी, सैनामैना र देवदह नगरपालिकाका नगर सभापतिका आकांक्षीहरु चुनावी प्रचारमा लागेका छन्।
बुटवलमा पाण्डे र केसी
बुटवल उपमहानगरपालिका दुवै समूहले आफू बलियो रहेको दावी गरेको र प्रतिष्ठाको बनाइएको नगर हो। यहाँ रामचन्द्र पौडेल लाइनबाट यसअघिका सभापति खेलराज पाण्डे नै पुन दोहोरिने भएका छन् भने उनीविरुद्ध देउवा समूहबाट रिता केसी क्षेत्रीले उम्मेदवारी घोषणा गरेकी छन्।
पाण्डे प्यानलमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिव छायाँ पोखरेल र गंगा पन्थी, सहसचिव देवलाल अरगेली र पुरुषोत्तम खनालले उम्मेदवारी घोषणा गरेका छन्।
यसैगरी केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर र हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल र जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बासकोटा र गणेश घिमिरे उम्मेबारी घोषणा गरेका छन्।
यो नगरका १९ वडाबाट ५ सय ८४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् ।
सैनामैनामा खाँण र शाह समूहको लडाइँ
सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनका लागि देउवा समूहबाट नगर सभापतिमा कृष्णप्रसाद पोख्रेलको नेतृत्वमा उपसभापति नीलप्रसाद थापा र मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कंडेल र सुभाष पौडेल, सहसचिव श्यामप्रसाद अधिकारी र सहसचिव सुरेश परियारको टिम घोषणा भएको छ।
यहाँ देउवा समूहमै रहेका नेता भरत शाह पक्षबाट नै सभापति रणबहादुर खनालको नेतृत्वमा उपसभापतिमा लोकमणि भट्टराई र लक्ष्मी आचार्य पौडेल, सचिव पदमा चुणामणि घिमिरे र अर्जुन पौडेल, सहसचिव मनु काउचा र शारदा रौतारले प्रचार शुरु गरेका छन्।
सैनामैनामा ११ वटा वडाका २ हजार ४ सय ४४ जना क्रियाशील सदस्य छन्। पहिलो चरणमा सम्पन्न महाधिवेशनबाट २ सय ३८ क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।
खाँणको गृहनगर तिलोत्तमामा पनि दुई गुटका प्यानल
कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर हो तिलोत्तमा। यहाँको नगर समितिमा शेरबहादुर देउवा समूहबाट हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल र माया चौधरी, सचिव प्रदिप थापा र हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ।
पौडेल समूहबाट नगर सभापतिको लागि नारायण न्यौपानेले पनि उम्मेदवारी घोषणा गरेका छन्।
न्यौपानेको प्यानलमा उपसभापति अशोककुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय रहेका छन्।
तिलोत्तमा नगरमा १७ वटा वडाबाट पहिलो चरणमा ३ सय ९२ क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।
सिद्धार्थनगरमा दुई पक्षकै भिडन्त
सिद्धार्थनगरमा पनि दुई समूह चुनावी मैदानमा देखिएका छन्। शेरबहादुर लाइनमा सभापतिमा कोसिस खड्का र पौडेल लाइनमा अर्का सभापतिका उम्मेदवार संजीव रेग्मीको समूह खडा भएका छन्।
सिद्धार्थनगरमा १३ वडाबाट २ सय ४० क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।
देवदहमा भुर्तेल र पाण्डेको प्रतिस्पर्धा
देवदह नगरपालिकामा पनि सभापति पदमा दुई लाइन देखिएको छ। देउवा पक्षमा सभापति गुणाखर भुर्तेल र पौडेल पक्षमा झविन्द्र प्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्।
अन्य पदमा भने व्यक्तिगत उम्मेदबारी घोषणा गरेका छन्। देवदह नगरमा १२ वडाबाट करिब १ सय ८० जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन्।
लुम्बिनी सांस्कृतिकमा सर्वसम्मत बनाउने प्रयास
लुम्बिनी सांस्कृतिक नगरपालिका हालका सभापति मोहम्द सईत खाँ नै सभापतिमा दोहोरिने भएका छन्।
यो भरत शाहको निर्वाचन क्षेत्र पनि हो।
रुपन्देहीमा नेपाली कांग्रेसले धेरै मतान्तरले जितेको क्षेत्र भएकाले यहाँ शाहको प्रभाव बढी रहेको र धेरै वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन्।