बुटवल-यही असोज ९ गते हुने नेपाली कांग्रेसको गाउँ नगर अधिवेशनका लागि उमेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन सक्रिय भएका छन्।
केन्द्रदेखि नै देखिएको दुई पक्ष सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गुट तल्लो तहसम्मै आएको छ।
रुपन्देहीमा अधिकांश स्थानमा देउवा र पौडेलसमूहले आफ्ना आफ्ना प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन्।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा दुई गुटका प्यानल घोषणा भएका छन्।
बुटवल उपमहानगरपालिकामा काग्रेस नगर अधिवेशनका लागि खेलराज पाण्डे र रिता केसीले आफ्नो आफ्नो नेतृत्वमा प्यानल घोषणा भएको छ। पाण्डे पौडेल गुटका हुन् भने केसी देउवा गुटकी हुन्।
पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन्।
केसीको नेतृत्वमा उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरे रहेका छन्।
यस्तै तिलोत्तमामा नगर सभापतिको लागि नारायण न्यौपाने र हरिलाल पाण्डेले प्यानल तयार पारेर उम्मेद्वारी घोषणा गरेका छन्।
न्यौपाने पौडेल गुटका हुन् भने पाण्डे देउवा गुटका हुन्। पाण्डेको नेतृत्वमा घोषणा गरेको प्यानलमा उप-सभापतिमा कल्याण पौडेल र माया चौधरी, सचिवमा हुमलाल पौडेल र प्रदिप थापा, सह-सचिवमा रमेश पराजुली र दिपक थापा रहेका छन्।
उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्याय रहेका छन्।
यस्तै सिद्धार्थनगर नगर समिति सभापतिमा संजीव शर्मा रेग्मी र कोशिशबहादुर खड्काको समूहले उम्मेदवारी घोषणा गरेको छ। रेग्मी पौडेल गुटका हुन् भने खड्का देउवा गुटका हुन्।
रेग्मीको नेतृत्वमा उपसभापतिमा गौरब श्रेष्ठ, घनश्याम यादव, सचिवमा सम्राट थापा, टिकाराम भट्टराई, सह–सचिवमा ओजश शर्मा र प्रतिक भण्डारी रहेका छन्।
खड्का समूहबाट उपसभापतिमा देवराज न्यौपाने र किरणकुमार घिमिरे, सचिवमा अनिलकुमार केसी र हरिमाया गुरुङ, सहसचिवमा आदर्श गुरुङ (एडी) र कृष्णकुमार चाई रहेका छन्।
रुपन्देहीमा भएका आफ्ना गुटका घोषणा सभामा जिल्लातहका नेतृत्व नै सहभागी भएका छन्। जिल्ला सभापति अब्दुल रज्जाक गुटको घोषणा सभामा सहभागी हुँदै आएका छन्। यस्तै पौडेल पक्षका जिल्लास्तरका नेताहरु पनि गुटको घोषणा सभामा सहभागी भएका देखिन्छन्।