भैरहवा। नेपाली कांग्रेस सिद्धार्थनगरमा युवा नेता संजीव शर्मा रेग्मीको नेतृत्वमा आगामी नगर अधिवेशनका लागि प्यानल घोषणा भएको छ।
मंगलबार भैरहवामा चुनाव प्रचार प्रसार समिति नेपाली कांग्रेस सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा नगर सभापतिका उम्मेदवार संजीब शर्मा रेग्मीको नेतृत्वको प्यानल घोषणा गरिएको हो ।
रेग्मीको नेतृत्वमा उपसभापतिमा गौरब श्रेष्ठ, घनश्याम यादव, सचिवमा सम्राट थापा, टिकाराम भट्टराई, सह–सचिवमा ओजश शर्मा र प्रतिक भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
२०४६ को जनआन्दोलनदेखि अनवरत रुपमा पार्टीमा क्रियाशील र पार्टीले समयसमयमा दिएको जिम्मेवारी पुरा गरेको भन्दै आसन्न अधिवेशनमा संजीब शर्मा रेग्मी नेतृत्वको प्यानललाई विजय गराउन उम्मेदवारी दिने घोषणा गरेका नेताहरुले आग्रह गरे ।
कार्यक्रममा नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका रेग्मीले नगर समिति रही कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हाल्दै सभापतिमा उम्मेदवारी दिन थालेको बताए । उनले यस अघिका अधिवेशनमा कोषाध्यक्षमा फराकिलो अन्तरले र सचिवमा निर्विरोध निर्वाचित भएको जानकारी गराउँदै कांग्रेसलाई सिद्धार्थनगरमा थप सशक्त र मजबूत बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।
उनले आगामी स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका प्रमुख, उपप्रमुखसहित बहुमत कांग्रेसबाट उम्मेदवारी दिने जनप्रतिनिधिलाई जिताउने गरी अगाडि बढ्ने बताए ।
कांग्रेस महासमिति सदस्य तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानले कांग्रेस एउटै परिवार भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताए ।
उनले कांग्रेसलाई आगामी तीनै तहका निर्वाचनमा जिताउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादवले सहमतिको प्रयास गर्नुपर्ने बताए । उनले पार्टीभित्रका नेता कार्यकर्ताहरु एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले अधिवेशनमा चुनावी प्रतिष्पर्धा भए पनि आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरिन् ।
नेपाली कांग्रेस रुपन्देही जिल्लाका आमन्त्रित सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले कांग्रेसभित्र स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताए ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (१)का सभापति पुरन प्रसाद श्रेष्ठले आन्तरिक प्रतिष्पर्धा भएकाले आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरे ।
चुनाव प्रसार समिति, नेपाली कांग्रेस सिद्धार्थनगर, रुपन्देहीका संयोजक निरज शर्माको सभापतित्व, कांग्रेस रुपन्देही पूर्व जिल्ला सभापति रामचन्द्र ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
११ बुदे प्रतिबद्धता
यसैबीच संजीब शर्मा रेग्मी नेतृत्वको प्यानलले ११ बुदे प्रतिबद्धता व्यक्त गरे । उक्त प्यानलले उम्मेदवारी दिनुका कारण प्रस्तुत गर्दै विभिन्न प्रतिबद्धता व्यक्त गरेको हो ।
कांग्रेसलाई सिद्धार्थनगरमा थप सशक्त र मजबूत बनाउन, पार्टीलाई स्थानीय, प्रदेश र संघको चुनावमा एकताबद्ध भएर बहुमतका साथ निर्वाचित गराउन, नगर वडा समितिलाई मजबुत बनाउन, भातृ संस्थाहरुलाई सबल, सक्षम र मजबुत बनाइ प्रभावकारी रुपमा अगाडी बढाउन, कांग्रेसका शुभेच्छुक संस्थामा आबद्ध सदस्यहरुको मनोबल उच्च बनाइ पार्टीको हितमा अगाडी बढाउन, पार्टीको विधानले तोकेको समितिहरु गठन गरी संगठन विस्तार गर्न र आवश्यकता अनुुसार विभागहरु गठन गरी पार्टीको प्रत्येक सदस्यहरुलाई जिम्मेवार बनाउन उम्मेदवारी दिने संजीव शर्मा रेग्मीले बताए ।
त्यस्तै पार्टी संगठनमा लागेका अग्रजहरुको सम्मानका साथ उचित भूमिका दिन, आम जनसरोकारको विषयमा पार्टीको तर्फबाट सशक्त रुपमा आवाज उठाउन, पार्टीका सदस्यहरुको मनोबल सदैव उच्च राख्न तथा सामूहिक नेतृत्व र निर्णय प्रणालीको विकास गर्ने रेग्मी नेतृत्वको प्यानलले प्रतिबद्धता जनाएको छ ।