बुटवल । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा एमाले फेरि पार्टीमा आउन जरुरी रहेको बताएका छन् । बुटवलमा एमालेले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेता रायमाझीले आफूहरु फेरि एक पटक 'टेस्ट' हुन आवश्यक रहेको बताए ।
"लोकतान्त्रिक चुनाबको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनु पर्छ । हामीहरु पुन: सत्तामा आउन जरुरी छ । हामी पुन टेस्ट हुन आवश्यक छ," उनले भने ।
उनले गठबन्धले सफलरुपमा चलिरहेको सरकारलाई असफल बनाउने चेष्ठा गरेको आरोप लगाउँदै त्यसलाई असफल गराउनु पर्ने बताए । उनले भने, "विगतमा देशको नेतृत्व गरिसकेका र पार्टीको नेतृत्व गरिसकेका असिफल नेताहरुको महागठबन्धन गरेर सफल नेता र सफल पार्टीलाई सम्पूर्ण विदेशी शक्ति लागेर जुन चेष्ठा गरेका छन् त्यसलाई असफल पार्नुपर्छ ।"
संसद पुनर्स्थापना भएपछि पनि संसदमा फेरि केपी ओलीकै बहुमत आउने देखेपछि 'सीमा पारीदेखि मात्रै नभई समुन्द्रपारी देखि' डिजाइन गरेर प्रमादेश जारी गरिएको आरोप लगाए ।
साथै उनले पार्टी विभाजनपछि देखिएका परिदृश्यमा नअल्झन पनि कार्यकर्तालाई आग्रह गरेका छन् । उनले आफू माओवादीबाट एमालेमा जोडिएको उदाहरण दिंदै नेकपा एमालेको नेतृत्वमा देशको समृद्धितर्फ अघि बढ्न आग्रह गरे । उनले भने-"म एउटा माओवादी पृष्ठभूमीबाट यो प्रकृयामा जोडिएको व्यक्ति हुँ । हामी नेकपा एमाले र केपी शर्मा ओलीको नेतृत्वले अब देशलाई समृद्धि गर्छ र लक्ष्य प्राप्ति गर्छ भनेर जोडिएका छौं । साथीहरु अझ परपर जानु भा'छ के सोचेर जानुभा'छ ?"