बुटवल–प्रदेश ५ प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरुले किसानले समयमा बीउ मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदेश सभामा विशेष समय लिएर सांसदहरुले बाढी पहिरोको क्षतिबाट पहाडी जिल्लामा दर्जनौ परिवार विस्थापित भएको भन्दै चासो बढाउन प्रदेश सरकारलाई आग्रह गरे।
प्रदेश सभामा विशेष समयमा बोल्दै सांसद अष्ठभुजा पाठकले सरकारले कृषिलाई पहिलो प्राथमिकता भनेपनि बाली लगाउने बेलामा बीउ नपाएको र रोपिसकेपछि मल नपाएको उल्लेख गरे। अर्की सांसद तारा जिसीले समयमा मल बीउ पाउन नसके खाद्यमा आत्मनिर्भर भन्ने सपना सपनामै सिमित हुने बताइन्।
सांसद बैजनाथ कलवारले पछिल्लो समय भ्रष्ट्राचारका कारण कृषि क्षेत्र असफल क्षेत्रको रुपमा देखिएको भन्दै सरकारले किसानलाई बीउ मल र यान्त्रिक औजार उपलब्ध गराउन नसकेको आरोप लगाए। सांसद् इन्द्र प्रसाद खरेलले कागजमा लेखेर मात्र कृषि क्षेत्रमा सुधार नआउने उल्लेख गरे।
त्यसैगरि हालै पहाडी जिल्लामा बाढी पहिरोमा परेकाहरु प्रति सरकारले ध्यान दिन नसकेको सांसदहरुले गुनासो गरेका थिए। सांसद दिनेश पन्थीले गुल्मीमा असार १८ गते आएको पहिरोले धनजनको क्षति अझै थुपै्र परिवार विस्थापित भएकाले प्रदेश सरकारको ध्यान जानुपर्ने बताए।
अर्का सदस्य खड्कबहादुर खत्रीले गुल्मीमा भएको बाढी पहिरोले कुलो र बाटोघाटो समेत बगाएकाले थप समस्या आएको उल्लेख गरे। सांसद तुलाराम घर्तीमगरले पाल्पामा रैनादेवी छहरा र तिनाउ गाउँपालिकामा पनि पहिरोले केही परिवार विस्थापित भएको, कतिपयको खेतबारी बगाएको भन्दै सरकारको ध्यान दिनुपर्ने बताए।
सांसद भोजप्रसाद श्रेष्ठले आफ्नो क्षेत्रका पर्यटकीय र पुरातात्विक क्षेत्रमा बजेट कटौती गरिएको भन्दै गुनासो गरे। सांसद सन्तोष पाण्डेले सरकारले सांसदले बोलेका कुरामा सरकारले ध्यान नै नदिएको उल्लेख गरे। सांसद फकरुद्धिन खाँनले पेट्रोलियम मूल्य वृद्धिले कोरोनाका कारण समस्यमा परेका नागरिकलाई थप आहात भएको बताए।