काठमाडौँ –सत्तारुढ दल नेकपाभित्रको विवाद समाधानका लागि दुई अध्यक्षबीचको वार्ता शुरु भएको छ। निर्णायक भनिएको वार्तामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ओलीको तर्फबाट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी छन्।
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केपछि प्रचण्ड सोझै बालुवाटार गएका हुन्। ओली र दाहालबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने दाहालको माग छ। तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिएका छन्।
दुवै अध्यक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि पार्टी फुट्न सक्ने सम्भावना प्रबल बन्दै गएको विश्लेषण गर्न थालिएको छ।
शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ–आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका थिए।