काठमाडौं-प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूसँग छलफल गर्दै गम्भीर निर्णय हुनसक्ने संकेत गरेका छन्। उनले मन्त्रीहरूलाई नेकपा फुटको संघारमा पुगेको भन्दै आफुले संकट उत्पन्न हुन नदिने बताए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुन भनेका छन् ।
‘आआफ्नो अवस्था प्रष्ट गरेर निर्णयका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिनुभयो’, प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै ती मन्त्रीले भने, ‘प्रधानमन्त्रीले सबैकुरा प्रष्ट नपारे पनि पार्टी विभाजन वा अन्य कुनै राजनीतिक निर्णय हुनसक्ने अवस्था देखियो ।’
उनले नेकपा स्थायी कमिटी बैठकले कुनै निर्णय गर्नुअगावै प्रधानमन्त्रीले कुनै कठोर निर्णय लिन सक्ने बताए । प्रधानमन्त्रीले राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आफू कुनै पनि हालतमा दुवै पद त्याग्ने पक्षमा नरहेको प्रष्ट बताए । प्रधानमन्त्रीले एकता गम्भीर मोडमा पुगेको कुरा गरेेेेको ती मन्त्रीले बताए।
आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोर्याउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको समेत ओलीले बताएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श गरेका हुन् । मन्त्रीहरुसँगको छलफलअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पनि भेट गरेका थिए ।
पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रपतिको सहयोग लिएर अघि बढ्ने प्रधानमन्त्रीको तयारीमा रहेको बुझिएको छ ।
यसैबीच, राष्ट्रपतिलाई बारम्बार भेटेकोमा अर्को पक्षले कुनै अनिष्टको शंका समेत गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचितवालय ६ सदस्यहरुबीच खुमलटारमा यस विषयमा छलफल भएको छ । अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र थापाले छुट्टै भेला गरेका हुन् ।