काठमाडौँ –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ। नेकपामा देखिएको संकट समाधानका लागि नेताहरु लागिपरे पनि अहिलेसम्म त्यसमा ठोस उपलब्धी हाँसिल नभएको परिवेशमा शनिबार बिहान स्थायी कमिटि बैठक बस्न लागेको हो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने पर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष तथा दुवै पद नछोड्ने ओलीको अडानका कारण नेकपामा विवाद छ।
पार्टीका दोस्रो पुस्ताका नेताहरु कुनै पनि हालमा दुई अध्यक्ष मिल्नु र पार्टी एकतालाई जोगाउनुको विकल्प नरहेको भन्दै पहल थालेका छन् । समस्या समाधानका लागि शुक्रबार ओली र प्रचण्डबिच लामो छलफल भएको थियो । सो छलफलमा दुवैले आफ्नो कुरा खुलस्त रुपमा राखेको सहभागी नेताहरुले बताएका थिए ।
ओली र प्रचण्डबिच शनिबार पनि छलफल हुँदैछ । ओली–प्रचण्डको छलफलपछि बस्ने (बिहान ११ बजेपछि) स्थायी कमिटि बैठकमा समस्या समाधानको विल्कपमाथि छलफल हुने बताइएको छ । तर त्यसको सम्भावना दुवै पक्ष आफ्नो अगाडनमा अडिग रहेसम्म सम्भाव नहुने पार्टीकै नेताहरुले बताएका छन् ।