बुटवल- लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या बढाएपछि नयाँ मन्त्रालय रहने ठाउँको टुंगो लगाउन गृहकार्य भइरहेको छ। आइतबार बसेको प्रदेशको मन्त्रिपरिषदको बैठकले १० वटा मन्त्रालयलाई बढाएर १३ वटा बनाएको थियो । त्यसको लागि केही मन्त्रालयलाई विभाजन गरिएको थियो । केहीको कार्यक्षेत्र हेरफेर भएको छ।
तत्कालको लागि जुन मन्त्रालय विभाजन भएको छ सोही मन्त्रालयमा नयाँ मन्त्रालयको व्यवस्थापन गर्ने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। थपिएको एउटा मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको भवनमा राखिने छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सुचना अधिकारी यमकान्त पाण्डेले नयाँ मन्त्रालयको लागि तत्काल अन्य ठाउँ नखोजिएको बताए । ‘जुन मन्त्रालय विभाजन भएका छन्। त्यसको कार्यजिम्मेवारी पनि घटेको छ ।’ उनले भने ‘त्यसैले तिनै मन्त्रालयको ठाउँलाई प्रयोग गर्ने गरि तयारी भइरहेको छ । नयाँ ठाउँ खोजिएको छैन ।’
पाण्डेका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा कानून महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राख्ने तयारी भएको छ । आन्तरिक मामिला मन्त्रालयको भवनको भूइँतलामा श्रम रोजगार तथा यातायात मन्त्रालय रहने छ ।
महिला बालबालिका, तथा ज्येष्ठ नागरिकको कार्यक्षेत्रलाई सामाजिक विकासबाट अलग्याएर कानून सँग जोडेर नयाँ मन्त्रालय बनाइएको हो । कानूनलाई आन्तरिक मामिलाबाट छुट्याइएको छ । श्रम तथा रोजगारलाई पनि सामाजिक विकासबाट अलग्याएर यातायातसँग जोडिएको हो । यातायात व्यवस्थाको कार्यक्षेत्र पनि यस अघि आन्तरिक मामिलासँग थियो ।
दाङमा रहेको ग्रामीण तथा शहरी विकास मन्त्रालयलाई विभाजित गरि उर्जा, जलश्रोत खानेपानी मन्त्रालय बनाइएको छ । उर्जा, जलश्रोत मन्त्रालयलाई अब बुटवलमा रहेको भौतिक पूर्वाधार मन्त्रालय भएकै ठाउँमा राखीने छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय एकै भवनमा रहने छन् । यसअघि यी एउटै मन्त्रालय अन्तर्गत रहेका थिए ।
मन्त्रालयहरु विभाजित भएसँगै समाजिक विकासको नाम हराएको छ। यस अघि सामाजिक विकास मन्त्रालय भएको ठाउँमा अब शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन्।
नयाँ मन्त्रालय थपिएपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालय र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय रहेका ठाउँमा एउटै मन्त्रालय रहने छन् । मुख्यमन्त्री कार्यालय सहितका ठाउँमा एक भवन वा स्थानमा २ मन्त्रालय रहने छन्।
प्रदेश सरकार स्थापना हुँदा ६ वटा मात्र मन्त्रालय रहेका थिए । ३ वर्षमा सबै मन्त्रालय व्यवस्थित भएका थिए । तर सत्ता टिकाउन सांसद तानातान गर्ने र मन्त्री बनाउने प्रचलनले मन्त्रालयको संख्या बढाइएको हो । यस अघि शंकर पोखरेल नेतृत्वको सरकारले ६ बाट बढाएर मन्त्रालयको संख्या १० पु¥याएको थियो । अहिले कुलप्रशाद केशीले बढाएर १३ पु¥याएका हुन् ।
मन्त्रालय व्यवस्थापन भएपछि मात्र मन्त्रिपरिषद विस्तार हुने
यसैबीच थपिएका मन्त्रालयहरुको व्यवस्थापन भएपछि मात्र लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद विस्तार हुने भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा शहकारी मन्त्री कृष्णध्वज खड्काले मन्त्रालय रहने ठाउँ टुंगो लागेर कार्यविभाजन गरेपछि मन्त्रीपरिषद विस्तार हुने बताए ।
‘मन्त्रालय र त्यस अन्तर्गतका कार्यकक्ष कहाँ राख्ने भनेर काम भइरहेको छ । त्यो टुंगिएपछि मन्त्रिपरिषद विस्तार भइहाल्छ ।’ उनले भने ।