बुटवल– प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारको समर्थनमा शुक्रबार बुटवलमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश ५ ले ‘राष्ट्रिय स्वाभिमान र समृद्धि, ओली सरकार नेपाल र नेपालीको भविष्यका निम्ति’ भन्ने नाराका साथ प्रदर्शनमा उत्रिएको थियो ।
‘लिम्पियाधुरा, कालापानी, लिपुलेक यही सरकार हो फर्काउने, ओली सरकार परिर्वतन गर्न पाइदैन’ जस्ता प्ले कार्ड सहित युवाहरू सडकमा उत्रिएका थिए ।
बुटवल मिलनचोकबाट सुरू भएको प्रदर्शन बसपार्क, हस्टिपललाई हुँदै पुष्पलाल पार्क हुँदै ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका उपाध्यक्ष कमल गौतमले ओली नेतृत्वको वर्तमान सरकार परिवर्तन बेमौसमको बाजा भएको बताए । उनले राष्ट्रिय एकताका लागि नैं ओली आवश्यक रहेको बताए ।
एकेडेमीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले राष्ट्रले खोजेको नेतालाई अहिले परिवर्तन सम्भव नभएको बताए ।
एकेडेमीका प्रदेश अध्यक्ष नरबहादुर घर्तीले देश परिवर्तन गर्ने नेतालाई पार्टी र सरकारको नेतृत्वबाट हटाउने कुरा हुनै नसक्ने बताए । कार्यक्रममा युवा संघ, अनेरास्ववियुका नेता कार्यकर्ताहरु सहभागी थिए । यस अगाडि झापा, पोखरा काठमाडौंमा पनि ओली सरकारको समर्थनमा युवाहरूले प्रदर्शन गरेका थिए ।