काठमाडौं–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि दुईअध्यक्ष छलफलमा जुटेका छन् । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी छन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्शा छापेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु नै संलग्न रहेको प्रमाण आफूसँग रहेको बताएपछि ओलीबाहेकका अरु शीर्ष नेता एकातिर उभिएका छन् ।
उनीहरुले ओलीका कारण सरकार र पार्टी दुवै चल्न नसकेको कूटनीतिक सम्बन्धमा असर पारिएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री र अध्यक्ष दुवै पद त्याग्न दबाब बढाएका छन् ।
ओलीको राजीनामा बाहेक अरु विषयमा सहमति हुन नसक्ने पक्षमा दाहाल र माधव नेपाल पक्ष रहेका बेला दुई नेताबीचमा सहमति गराई समाधान खोज्ने प्रयास गरिएको हो ।
जारी स्थायी कमिटी बैठकमा अधिकांश नेताले आफ्नो चर्को आलोचना गर्दै राजीनामा मागेपछि रुष्ट भएका प्रधानमन्त्री ओलीले प्रतिक्रियामा बिना सल्लाह संसद बैठक अन्त्य गरेका थिए ।
नेताहरुका कारण पार्टी विभाजन नै हुनेस्तरमा पुगेपछि शुक्रबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरू बसेर एकतालाई जोगाउन नेताहरुमाथि हस्तक्षेप बढाउनुपर्ने निचोड निकालेका थिए ।