बुटवल-लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी व्यवस्थापनका लागि मन्त्रीको संयोजकत्वमा व्यवस्थापन समिति बनाएको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शहरी तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई प्रदेश राजधानी व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।
उनका अनुसार समितिले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा आवश्यक पूर्वाधार तयार गर्नका लागि समन्वयको काम गर्नेछ।
यस्तै बैठकले लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा रुपन्देहीका वामदेव क्षेत्री घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै आयोगको सदस्यमा कपिलवस्तुका शिवपुजन यादव र गुल्मीका डा दामोदर भुसाल नियुक्त भएको सरकारका प्रवक्ता खड्काले जानकारी दिए। ५ सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताए।
यस्तै मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या थप गर्दै १३ पुराउने निर्णय गरेको छ।
जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेका छन्।
प्रवक्ता खड्काले मन्त्रालय विभाजनलगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए।
मन्त्रिपरिषद् बैठकले प्रदेश पदक सिफारिस समितिमा कपिलवस्तु कृष्णनगरका ब्रम्हानन्द उपाध्याय, पाल्पाका यज्ञ पोखरेल र रुकुमका जुन कुमारी रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यस्तै कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि संसोधन गरी रुकुमपूर्व र रोल्पाको उत्तरी भेगका कर्मचारीहरुको सरुवा डेढ वर्ष र अन्य क्षेत्रका कर्मचारीको दुई वर्षमा सरुवा गर्ने निर्णय समेत गरेको प्रवक्ता खड्काले जानकारी दिए।
कर्मचारीहरुको सरुवा भदौं १५ देखि भदौ मसान्त सम्म र असोज १ देखि १५ सम्म गरी दुई चरणमा गर्ने निर्णय समेत बैठकले गरेको छ।
त्यस्तै बैठकले हालै आएको बाढी पहिरो पिडितहरुलाई तत्काल राहत र पुनस्थापनाका लागि प्रदेशका सबै जिल्ला प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए।