काठमाडौँ – संसदको बर्खे अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए। सरकारको पत्र पुगेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन्।
संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको असार १८ गतेको सिफारिसमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन विहिबार ५ बजे देखि अन्त्य भएको राष्ट्रपतिद्वारा संसद सचिवालयमा प्रेसित पत्रमा उल्लेख छ।
पार्टी भित्र संकटमा आएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरि फर्किएपछिको मन्त्रीपरिषद बैठक मार्फत संसदको चालु अधिवेशन अर्थात बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग जोडदार रुपमा उठाइरहेका बेला सरकारले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
अधिवेशन अन्त्य भएसँगै संसदमा प्रधानमन्त्री ओलीविरुद्ध आउन सक्ने सम्भावित संकट तत्कालका लागि टरेको छ ।
प्रचण्ड–नेपाल पक्षले चाहेर पनि तत्काल संसदमा अविश्वासको प्रस्ताव लैजान नपाउने भएका छन् । यस्तै ओलीलाई आफू अनुकुल अध्यादेश ल्याउने बाटो पनि खुल्ला हुने भएको छ। यस्तै चाहेमा संकट काल लगाउने अधिकार पनि ओलीले पाउने छन् ।
संसदको विशेष अधिवेशन बोलाउनका लागि एक चौथाइ सदस्यले त्यसको माग सभामुख समक्ष गर्नु पर्छ । त्यसको जानकारी सभामुखले सरकारलाई गराएको १५ दिनपछि मात्रै विशेष अधिवेशनको प्रक्रिया सुरु हुने व्यवस्था रहेकाले तत्कालका लागि संसदमा ओलीको संकट टलेको हो ।
यो अधिवेशनबाट विवादास्पद एमसीसी विधेयक पारित गराउनु पर्ने भए पनि पार्टी भित्रैबाट विरोध भएपछि अघि बढ्न सकेन । तर एमसीसी पारित गर्ने अवधि थप्ने तयारी छ ।