बुटवल-लुम्बिनी प्रदेशको दाङ ३ खबाट निर्वाचित सांसद विमलाकुमारी खत्री कुन दलकी सांसद भन्ने विषयले केही सातादेखि नै लुम्बिनीको राजनीतिमा तरंग सिर्जना गरेको छ। उनीविरुद्धका अनेकौं आरोप र विवादास्पद देखिने विषयहरु सार्वजनिक भइरहेका छन्।
खत्री आफ्नो दलको सांसद भन्दै एमालेले कारबाही गरेर पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको थियो। सोही अनुसार सभामुखले कारबाही गर्न नमिल्ने देखिएको प्रत्युत्तर पत्र पठाएपछि एमाले आक्रोशित छ।
सांसदको विषयलाई लिएर लुम्बिनीमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिशोधको राजनीतिको शुरुवात हुन थालेको छ।
खत्री २०७६ मंसिर १६ मा तत्कालीन नेकपाको सूर्य चिन्हबाट चुनाब जितेकी सांसद हुन्।
प्रदेश सभा सचिवालयसँग रहेका विवरणमा खत्री दलीय विवरणमा एमाले र माओवादीमा देखिन्छिन् भने व्यक्तिगत विवरणमा माओवादी।
खत्री निर्वाचित दल नेकपा विघटन भएर एमाले र माओवादी पुनस्थापित भएपछि नेकपाबाट निर्वाचित सांसदले दल रोज्न पाउने व्यवस्था सर्वोच्चले गरेको थियो।
२०७७ फागुन २३ मा नेकपा विघटन भएपनि उनले २०७८ वैशाख १९ अघिसम्म कुन दल रोजेको भन्ने खुलाएकी थिइनन्। वैशाख १९ मा उनले प्रदेश सभामा बुझाएको विवरणमा उनी माओवादी केन्द्रमा आवद्ध छिन् भन्ने उल्लेख छ।
यस्तै उनले दल रोजेको जानकारी पश्चात् माओवादी केन्द्रले २०७८ वैशाख १९ मै अध्यावधिक गरेको विवरणमा उनी माओवादी केन्द्रको सांसदको रुपमा उल्लेख छ।
खत्री आफ्नो दलको सांसद हुन् भन्दै एमालेले २०७७ चैत १५ मा बुझाएको सांसदको विवरणमा उल्लेख गरेको छ।
२०७७ चैत ६ मा प्रदेश सभा सचिवालयले सबै पार्टीका संसदीय दलसँग पार्टीमा रहेका सांसदको सूची माग गरेपछि चैत १५ मा एमालेले प्रदेश सभा सचिवालयलाई विवरणसहितको पत्र बुझाएको थियो।
एमालेले बुझाएको सो सूचीमा नेकपाबाट उपचुनाब जितेकी विमला कुमारी खत्री र एमाले प्रवेश गरेका माओवादी सांसद दधिराम न्यौपाने, दिनेश पन्थीसमेतको नाम उल्लेख छ। यसरी एमालेले ४३ सांसदको नाम आफ्ना सांसद भनेर बुझाएको छ। एमालेले ४३औं नम्बरमा खत्रीको नाम समावेश गरेको छ।
माओवादीले १८ नम्बरमा खत्रीको नाम उल्लेख गरेको छ। सूचनाको हक प्रयोग गरेर प्रदेश सभा सचिवालयबाट प्राप्त विवरणअनुसार खत्रीका दुईथरि दस्तावेजमध्ये एमाले हुन् भन्ने विवरण एमालेले मात्रै बुझाएको देखिन्छ भने माओवादी हुन् भन्ने विवरण खत्री आफैले र माओवादी केन्द्रले बुझाएको देखिन्छ।
खत्रीले हस्ताक्षर गरेका भनिएका अरु केही पत्रहरु पनि एमालेसँगै सम्बन्धित छन्। एमाले अध्यक्ष केपी ओलीले २०७८ साउन ४ गते स्पष्टीकरण सोधेपछि जवाफमा आफुले 'केही व्यक्तिको बहकाउ र भ्रममा परेर पार्टीको विधानविपरीत कमजोरी गरेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्याउने प्रतिबद्धता'सहितको पत्र एमालेले सार्वजनिक गरेको थियो।
तर, साउन १८ को त्यो पत्रमा भएको हस्ताक्षर जबरजस्ती गराइएको उनको दाबी छ। साउन १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्री शंकर पोखरेल निवासमा जबरजस्ती 'बन्धक' बनाएर पुराना माइन्युट र विज्ञप्तिमा हस्ताक्षर गराएको उनले पत्रकार सम्मेलन गरेरै बताएकी थिइन्।
यसअघि खत्रीले २०७८ वैशाख १९ मा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको बताएकी थिइन्। त्यसपछि एमालेले उनलाई आफ्नो दलमा प्रवेश गर्न दबाब दिदै आएको उनको भनाई छ।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतको नेकपा विघटन गर्ने फैसलाले नेकपाबाट निर्वाचित भएका सांसदले एमाले वा माओवादीमध्ये एउटा दल रोज्नसक्ने व्यवस्था गरेअनुसार माओवादी रोजेको तर्क उनले पेश गर्दै आएकी छिन्।
तर नेकपा विघटनपश्चात् खत्री आफ्नो दलको सांसद रहेकाले उनले माओवादी रोज्न नपाउने तर्क एमालेको छ। एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल भन्छन्-उहाँ एमाले सांसद हो, त्यसैले उहाँ अरु दल रोज्न पाउनुहुन्न र एमालेबाहेकको सरकारलाई समर्थन गर्न सक्नुहुन्न, पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्पष्टीकरण सोधेर चित्त नबुझेपछि कारबाही गरेको हो।'
उनले नेकपा विघटनपश्चात् माओवादी दल रोजेको र त्यसभन्दा अघि कुनै दल नरोजेको माओवादीको तर्क छ। माओवादी प्रमुख सचेतक तुलाराम घर्ती भन्छन्-'विमलाजीले नेकपा विघटनपछि माओवादी रोज्नुभयो, उहाँले एउटा दल रोजिसकेपछि उहाँ कसरी एमाले हुनुभयो ? कसरी माओवादीको सांसदलाई एमालेले हाम्रो सांसद हो, हामीले कारबाही गर्यो, पदमुक्त गरेको जानकारी गराउ भन्न मिल्छ ?'
खत्रीसँग सम्बन्धित अन्य कागजातहरु