बुटवल-लुम्बिनी प्रदेशमा पछिल्लो समय सबैभन्दा बढी विवादमा तानिएकी सांसद हुन् दाङकी विमला कुमारी खत्री वली।
पति उत्तरकुमार वलीको निधनपश्चात् सहानुभूतिस्वरुप उपनिर्वाचनमा दाङ ३ खबाट चुनाब जितेकी वली एमाले सांसद हुन् कि माओवादी सांसद भन्ने विषय गत वैशाखयता विवादमा छ।
उनले तत्कालीन नेकपाको चुनाब चिन्ह सूर्यबाट चुनाब जितेकी थिइन्। नेकपा २०७७ फागुन २३ मा विघटन भएर एमाले र माओवादी ब्युँतिए।
यी दल ब्युँतिएको केही सातापछि उनी एमाले हुन् भनेर एमालेले प्रदेश सभाले मागेको विवरणमा उल्लेख गर्यो।
२०७७ चैत ६ मा प्रदेश सभा सचिवालयले निर्वाचन आयोगको हवाला दिदै सबै पार्टीका संसदीय दलसँग पार्टीमा रहेका सांसदको सूची मागेको थियो।
चैत १५ मा एमालेले प्रदेश सभा सचिवालयलाई विवरणसहितको पत्र बुझायो। जसमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले हस्ताक्षर गरेका छन् र एमालेको छाप लगाएको छ। सोही विवरण रहेको पत्रमा प्रदेश सभा सचिवालयको छाप पनि छ।
एमालेले बुझाएको सो सूचीमा नेकपाबाट उपचुनाब जितेकी विमला कुमारी खत्री वली र एमाले प्रवेश गरेका माओवादी सांसद दधिराम न्यौपाने, दिनेश पन्थीसमेतको नाम उल्लेख छ। यसरी एमालेले ४३ सांसदको नाम आफ्ना सांसद भनेर बुझाएको छ। एमालेले ४३औं नम्बरमा वलीको नाम समावेश गरेको छ।
यो विवरणका साथै एमाले संसदीय दल र एमाले दाङको जिल्ला कमिटि बैठकमा सहभागी भएका आधारमा वली एमाले सांसद हुन् भन्ने दाबी एमालेको छ।
सोहीअनुसार एमालेले ४ दलीय गठबन्धन (कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा) सरकारलाई समर्थन गरेको भन्दै उनलाई स्पष्टिकरण सोधेर चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेको पत्र भदौ १ मा प्रदेश सभा सचिवालयमा बुझाएको छ।
नेकपा विघटनपश्चात् वली आफ्नो दलको सांसद रहेकाले उनले माओवादी रोज्न नपाउने तर्क एमालेको छ। एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल भन्छन्-उहाँ एमाले सांसद हो, त्यसैले उहाँ अरु दल रोज्न पाउनुहुन्न र एमालेबाहेकको सरकारलाई समर्थन गर्न सक्नुहुन्न, पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्पष्टीकरण सोधेर चित्त नबुझेपछि कारबाही गरेको हो।'
एमाले अध्यक्ष केपी ओलीले २०७८ साउन ४ गते वलीलाई २०७७ चैत १७ को संसदीय दलको बैठकमा सहभागी भएको, २०७८ जेठ ३० मा नीति कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप लगाएकोमा ह्वीप उल्लंघन गरेकोजस्ता कारण देखाउँदै कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेका थिए।
साउन ४ मा सोधिएको स्पष्टीकरणको जवाफ वलीले साउन १८ मा बुझाएकी थिइन्। उनले स्पष्टीकरणको जवाफमा लेखेको पत्रमा केही व्यक्तिहरुको बहकाउ र भ्रममा परेर पार्टी विधान विपरीत केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाएकी थिइन्। यो पत्रमा भने उनले दबाबमा हस्ताक्षर गरेको भनेकी छिन्।
तर, वलीले २०७८ वैशाख १९ मा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको बताएकी थिइन्। २०७७ फागुन २३ मा सर्वोच्च अदालतको नेकपा विघटन गर्ने फैसलाले नेकपाबाट निर्वाचित भएका सांसदले एमाले वा माओवादीमध्ये एउटा दल रोज्नसक्ने व्यवस्था गरेअनुसार माओवादी रोजेको तर्क उनले पेश गर्दै आएकी छिन्।
नेकपाको सूर्य चिन्हबाट २०७६ मंसिर १६ मा लुम्बिनी प्रदेशको दाङ ३ ख बाट चुनाब जितेकी उनले नेकपा विघटनपछि प्रदेश सभा सचिवालयमा उपलब्ध गराएको विवरणमा दलीय संलग्नता माओवादी केन्द्र भन्ने उल्लेख गरेकी छिन्।
एमालेले उनी सहजै एमालेमा प्रवेश नगरेपछि उनलाई दबाबमा राखेर पार्टी प्रवेश गराउने प्रयत्न गरेपनि सफल नभएपछि उनलाई गठबन्धनलाई समर्थन गरेको भन्दै कारबाही गरेको थियो।
उनले साउन २१ मा पत्रकार सम्मेलन गर्दै साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्री शंकर पोखरेल निवासमा 'बन्धक' बनाएर जबरजस्ती पुराना माइन्युट र विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको आरोप लगाएकी थिइन्। त्यसबीचमा आफु एमालेमा रहेको विवरण उल्लेख गर्दै वलीकै हस्ताक्षर भएको विज्ञप्ति एमालेले सार्वजनिक गराएको थियो।
उनलाई नै उपस्थित गराएर पत्रकार सम्मेलन गर्ने एमालेको प्रयत्न सफल नभएपछि उनलाई जबरजस्ती हस्ताक्षर गर्न लगाएर विज्ञप्ति सार्वजनिक गराएको उनको आरोप थियो। यी आरोपको एमालेले खण्डन गर्दै आएको छ।
उनलाई एमाले र माओवादीमा राख्न आर्थिक प्रलोभन देखाइएको र केही रकम बुझाएको आरोप एमाले र माओवादीले एकापसमा लगाउँछन्।
वलीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको विषय सार्वजनिक गरेपछि एमालेले उनलाई 'कुनैपनि हालतमा' सांसद पदबाट हटाउन चाहेको छ। माओवादीले उनलाई मन्त्री बनाएरै भएपनि आफ्नै साथमा राख्ने प्रयत्न गरिरहेको छ।
यसबीचमा उनको नैतिक पतन हुने खालका विषयवस्तु समेत सार्वजनिक भएका छन्। जसले उनीप्रतिको आक्रोश र सहानुभूति दुवै छरपस्ट भएका छन्।
मानवअधिकारकर्मीसमेत रहेका अधिवक्ता महेन्द्र पाण्डे लुम्बिनीमा सांसद अदलबदल गर्ने/गराउने खेलले राजनीतिप्रति आममानिसमा वितृष्णा पैदा गराएको र यसले संसदीय अभ्यासमै गलत नजिर बसालेको बताउँछन्।
'लुम्बिनीमा वैशाखयता भएका अधिकांश घटनाक्रमहरु राजनीतिकभन्दा बढी नैतिकहिन छन्, उनी भन्छन्-यस्ता घटनाले राजनीति गर्ने व्यक्तिप्रति त वितृष्णा जगाउँछ नै पद्धतिमै पनि शंका उत्पन्न गराउँछ।'
विमला कुन दलकी सांसद ?
विमलालाई आफ्नो दलमा राख्न विगतमा एमाले र माओवादी दुवैको प्रयत्न रह्यो। अहिलेसम्म उपलब्ध तथ्य र प्रमाणका आधारमा विमला प्रदेश सभामा दुवै दलमा रहेको कागजात देखिन्छन्।
माओवादीमा रहने विवरण विमला आफैले बुझाएकी हुन् भने विमला एमालेमा रहेको भन्ने विवरण एमाले संसदीय दलले बुझाएको हो।
अहिले एमाले विमलालाई पदमुक्त गर्न चाहन्छ। एमालेको सरकार ढाल्न र मुख्यमन्त्रीकै नैतिकतामा प्रश्न उठाउने वलीलाई एमाले पदमुक्त गराउन जोडबलका साथ लागेको छ। माओवादी केन्द्र उनलाई आफ्नो दलमा राखिरहेर सत्ता जोगाउन प्रयत्नरत छ। त्यसका लागि माओवादीले मन्त्री दिनेसम्मको आश्वासन दिएको छ।
एमालेले प्रदेश सभामा बुझाएको विवरणभन्दा सांसद आफैले दलीय आवद्धतासहित बुझाएको विवरण बढी विश्वसनीय हुने कानुन व्यवसायी बताउँछन्।
अधिवक्ता महेन्द्र पाण्डे विमला कुमारी खत्री वली एमाले सांसद हुन् भन्ने प्रदेश सभाको आधिकारिक दस्तावेजमा नरहेकोले विमलालाई एमालेले आफ्नो सांसद दाबी गर्न नपाउने तर्क गर्छन्।
'प्रदेश सभा सचिवालयमा एमालेले मेरो सांसद हो भनेर बुझाएको कागजात भन्दा स्वयम् व्यक्तिले म फलानो दलमा छु भनेर स्वयमले सनाखत गरेको विवरण मात्रै आधिकारिक हुनुपर्छ-उनले भने-नेकपा विघटन भएर एमाले र माओवादी पुनस्थापित भइसकेको अवस्थामा सांसदले आफुले रोज्ने अधिकार भएकाले त्यसलाई मात्रै आधिकारिक मान्न सकिन्छ।'
यसमा अर्का अधिवक्ता नगेन्द्र बस्याल पनि सहमत जनाउँछन्। उनी भन्छन्-'विमला वलीको हकमा निर्वाचन ऐन आकर्षित हुनसक्ने भएपनि नेकपा विघटन भएर एमाले र माओवादी पुनस्थापित भएको अवस्थामा भने सांसदले नै दल रोज्नसक्ने अवस्था रहेको थियो।'
यी दुई अधिवक्ता वलीको विषयमा सभामुखले उचित निर्णय लिनुपर्ने बताउँछन्। दलको निर्णय चित्त नबुझेमा सांसद सर्वोच्च अदालत जानसक्ने बाटो खुला रहेको उनीहरु बताउँछन्।