काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा अध्यक्षद्वयले आफ्नो विचार राखेपछि अन्य एजेन्डामा प्रवेश गर्नेगरी बैठकका एजेन्डा तयार पारिएको थियो । बैठकमा एजेन्डा प्रस्तुत भएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० बाट सुरू भएको बैठक दिउँसो २:३० बजे स्थगित भएको हो । आजको बैठक सुरुवात मात्र भएकाले अध्यक्षद्वयले आफ्नो विचार राखेको र बैठकमा क्रमश छलफल अघि बढाइने नेता देव गुरुङले जानकारी दिए ।
बैठकको बारेमा जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तय गरेको एजेन्ड महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको जानकारी दिए । महासचिव पौडेलले बैठकका एजेन्डा सार्वजनिक गर्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका बारेमा धारणा राख्ने बताए ।
त्यस्तै सरकारको कामका बारेमा हुने समीक्षा पनि एजेन्डामा राखिएको जानकारी दिए । सरकारले गरेको काममध्ये कोविड १९ नियन्त्रण रोकथाम र उपचारका क्रममा सरकारले गरेको कामका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।
त्यस्तै नेपालको सीमा समस्या र समाधानका क्षेत्रमा भइरहेको कामका बारेमा पनि समीक्षा हुने एजेन्डा तय गरिएको छ । त्यस्तै बैठकमा पार्टी एकताका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल हुनेछ । बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा पनि छलफल हुनेछ । बैठक फेरि शुक्रबार बस्नेछ ।