बुटवल-लुम्बिनीमा सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफल सहमतिमा नपुगी सकिएको छ।
प्रतिपक्षी दल एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिश गरेका २ सांसदलाई पदमुक्त नगरेको भन्दै सदन चल्न नदिने अडान राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले बैठक डाकेका थिए।
एमालेले सूर्य चिन्हबाट चुनाब जितेका सांसदहरु अजय शाही र विमला कुमारी खत्रीलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखसमक्ष पत्र बुझाएको थियो।
सभामुखले २ सांसदबारे विवाद भएको र निर्वाचित भएपछिको अवस्था बुझेर कारबाही अघि बढाउने भन्दै पदमुक्त गरेका छैनन्।
पदमुक्त नहुन्जेलसम्म संसद चल्न नदिने भनेपछि नियमित रुपमा संसद चलाउने प्रयासस्वरुप मुख्यमन्त्री केसीले प्रतिपक्षी दल एमालेसँग छलफल गरेका थिए।
दुवै पक्षबीच भएको छलफलमा सांसद अजय शाहीको कारबाहीलाई अघि बढाउनका लागि सभामुखलाई अनुरोध गर्ने सत्तापक्ष सहमत भएपनि विमला खत्रीको विषयमा सहमति नजनाएपछि बैठक निचोडमा नपुगी सकिएको प्रतिपक्षी दलका सांसद बैजनाथ चौधरीले जानकारी दिए।
उनले अजय शाहीको कारबाही प्रक्रिया अघि बढाउने भन्नेमा सहमति जुटेपनि विमलाको विषयमा सहमति नजुटेपछि बैठकमा सहमति जुट्न नसकेको बताए।
'उहाँहरु सूर्य चिन्हबाट चुनाब जितेकाले हाम्रो पार्टी अध्यक्ष र प्रदेश संसदीय दलले कारबाही गरेको छ त्यो पत्र हामीले बुझाइसकेका छौं-उनले भने-त्यो पत्र अनुसारको सूचना नसुनाएसम्म सदन चल्दैन।'
सत्तारुढ दल कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले प्रतिपक्षी दल एमालेसँग भएको छलफल जारी रहने बताए। उनले २ सांसदहरुको पदमुक्त गर्ने विषयमा एमालेले अडान राखेको र छलफल सहमतिमा नपुगेको बताए। उनले छलफल जारी रहने बताए।
एमालेले अवरोध गर्ने बताएपछि १ बजे बोलाइएको बैठक पौने २ बजेसम्म पनि बस्न सकेको छैन।