बुटवल–आगामी आर्थिक वर्ष २०७७/०७८ सम्मको लागि प्रदेश सभाका लागि ३५ वटा शिर्षकमा बजेट विनियोजन भएको छ । जस अनुसार प्रदेश सभालाई मात्र भनेर २३ वटा र प्रदेश सभा सचिवालयका लागि १२ वटा रहेका छन् ।
बजेटमा सबैभन्दा बढी रकम टेलिभिजन कार्यक्रम उत्पादन र प्रसारणको लागि विनियोजन भएको छ । सभा र समितिहरुको गतिविधि समेट्ने टिभी कार्यक्रम उत्पादन तथा प्रशारण शिर्षकमा २३ लाख ४० हजार रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै रेडियो कार्यक्रम उत्पादन र प्रशारणमा २० लाख २५ हजार विनियोजन भएको छ । महत्वपूर्ण बैठकको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न १ लाख ४४ हजार रुपैया छुट्याइएको छ । प्रदेश सभा विशेष समितिका सभापति र सदस्यहरुको क्षमता अभिवृद्धिको लागि २१ लाख रुपैया खर्च हुने भएको छ ।
यसैगरी सभामुख र उपसभामुख निवास तथा दलका कार्यालयमा पूर्वाधार तयार गर्ने गरि बजेट विनियोजन भएको छ । जस अनुसार सभामुख निवासमा फूलबारी निर्माण गर्न ५ लाख, कम्पाउण्ड रोलिङ र लेभलिङको लागि एक लाख, उपसभामुख निवासमा पार्किङ सेड निर्माणको लागि ४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसै गरी नेकपा संसदीय दलको कार्यालयमा शौचालय निर्माण शीर्षकमा २ लाख ५० हजार रुपैया विनियोजन भएको छ । प्रदेश सभामा कोरोनालाई ध्यान दिँदै स्वास्थ्य सामाग्रीहरुको लागि पनि बजेट विनियोजन गरिएको छ । जस अनुसार माक्स, ग्लोब्स, सेनेटाइजर, डिस्इन्फेक्टिगं रसायन, सुगर टेष्टिङ किट, औषधि खरीद आदिमा १५ लाख रुपैया विनियोजन भएको छ । मेडिकल उपकरण खरीद भनेर ४ लाख रुपैया छुट्याइएको छ ।
जनप्रतिनिधिको अभिलेख लिने सफ्टवेयर प्रणाली तथा मोबाइल एप्लिकेसन निर्माणको लागि १५ लाख, इलेजिश्लेसन सफ्टवेयर स्तरोन्नतिको लागि ५ लाख, इपुस्तकालय व्यवस्थापनको लागि ५ लाख, डिजिटल नोटिस बोर्डको लागि ३ लाख, समिति बैठकहरुमा अडियो रेकर्डिग सिष्टमको लागि २० लाख, सिसिटिभी सहितको सर्भिलेन्स सिष्टमको लागि १५ लाख, भर्चुअल कन्फे्रन्स रुम सेटअपको लागि २० लाख रुपैया खर्च हुने छ ।
यस्तै प्रदेश सभा स्थापना दिवस कार्यक्रमको लागि १० लाख रुपैया, दशैं तिहार शुभकामना आदानप्रदानको लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै विभिन्न अन्तरक्रिया र तालिम लगायतलाई पनि बजेट छुट्याइएको छ ।