काठमाडौँ - नेकपा एमालेले निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिएको छ। सरकारले नेकपा एमाले विभाजन गर्ने योजनासहित राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि आयोगमा केन्द्रीय सदस्यहरुको विवरण बुझाएको हो।
बुझाइएको विवरण अनुसार एमालेको साविकको २०३ सदस्यीय केन्द्रीय कमिटीमा ५७ जना थपेर २ सय ६० सदस्यीय बनाइएको छ। ओली पक्षले केन्द्रीय कमिटी बैठकको निर्णय र हस्ताक्षर, पार्टीको विधान, पार्टी विवाद समाधानको लागि गठन गरिएको १० सदस्यीय कार्यदल निर्णय लगायत विवरण आयोगमा अद्यावधिकका लागि दर्ता गरेको बताइएको छ।
सरकारले मंगलबार दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।
केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत संख्या पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर सरकारले अध्यादेश ल्याएपछि एमालेले नयाँ केन्द्रीय समितिमा ५७ जना थपेर अद्यावधिक गराएको हो। सदस्यको विवरणमा ओलीले माधव नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यहरुको नाम नकाटे पनि कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर कारबाहीमा परेका प्रकाश ज्वालाको नाम भने हटाइएको छ।