बुटवल- लुम्बिनी प्रदेशमा मन्त्रिपरिषदको संख्या बढ्ने भएको छ। यसअघि १० सदस्यीय रहेको मन्त्रिपरिषद अब १५ सदस्यीय बन्न सक्ने सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन्। मन्त्रीको संख्या बढ्ने भएमा सरकारलाई केही मन्त्रालय टुक्राउनुपर्ने बाध्यता छ ।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारमा तीन दल सहभागी भएकाले अहिलेको मन्त्रिपरिषद् पहिलेको भन्दा स्वाभाविकरुपमा केही ठूलो आकारको हुने बताए । कांग्रेस र माओवादीले ४–४ मन्त्री र एक–एक राज्यमन्त्री तथा जसपाले तीनजना मन्त्री पाउने समझदारी भएको स्रोतको दावी छ ।
माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा साउन २७ गते ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री सहित २, नेपाली कांग्रेसका २ र जनता समाजवादी पार्टीबाट ३ जना सहभागी छन्। यस्तै स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित नवलपरासीका अजय शाही पनि विना विभागीय मन्त्री बनेका छन्।
माओवादी केन्द्र संसदीय दलका उपनेता प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका नेता दाङका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री र जसपाका सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए । जसपाकी सुमन शर्मा रायमाझी र पुरमति ढेंगा विना विभागीय मन्त्री छन् । जसपाका तीनैजना मन्त्री भइसकेकाले अब विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट थप मन्त्री बन्ने छन् ।
माओवादी केन्द्र र नेपाली कांग्रेस दुबै पार्टीमा आकांक्षी धेरै भएकाले मन्त्री छान्न सकस भएको छ । यही कारण सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने रणनीतिमा छ।
विस्तार हुने मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारु, दाङकै विमला खत्री वली, बर्दियाका तिलकराम शर्मा र बांकेकी कृष्णा केसी मन्त्री हुने चर्चामा छन् । यी मध्ये दाङबाट उपचुनाव जितेकी विमला वली मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।
नेकपाबाट चुनाव लडेकी उनी सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । उनलाई नेकपा एमालेले आफ्नो पक्षमा पार्न निकै प्रयास गरेको थियो । त्यस क्रममा आफूलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको पनि विमलाले बताएकी थिइन् ।
२०६९ सालमा तत्कालिन नेकपा माओवादी विभाजित हुँदा हालका मुख्यमन्त्री कुलप्रसाद केसीसँगै मोहन वैद्य नेतृत्वको माओवादीमा लागेका र पछि केसीसंगै माओवादी केन्द्रमा फर्किएका तुलाराम पनि मन्त्री बन्ने सम्भावना छ। नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल, पाल्पाका बीरबहादुर राना, रुपन्देहीकी रमा अर्याल र वसिउद्दिन खान तथा नवलपरासीका बैजनाथ कलवार मन्त्री बन्ने चर्चामा छन्।
हमाललाई पार्टीले प्रमुख सचेतकबाट हटाएको थियो। कांग्रेसले पनि विस्तार हुने मन्त्रिपरिषदमा जाने मन्त्रीको नाम टुंगो लगाउन नसकेको प्रमुख सचेतक फखरुद्दिन खानले बताए । ‘मन्त्रीको नाम टुंगो लगाउन खासै समस्या र विवाद छैन’ खानले भने, ‘चर्चामा रहेका साथीहरु मध्येबाटै सिनियारिटी, पार्टीमा गरेको योगदान र अनुशासनलाई हेरेर पार्टीले न्यायोचित निर्णय गर्छ ।’
सरकारलाई समर्थन गरेको चार दलीय गठवन्धन मध्येको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।