बुटवल - लुम्बिनी सरकारका मन्त्री अजय शाहीले आफू स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप नलाग्ने बताएका छन्। चार दलिय गठबन्धनसँग मिलेर कुलप्रसाद केशी नेतृत्वको सरकारमा मन्त्री बन्न गएपछि एमालेले साउन २८ गते पत्र काटेर स्पष्टीकरण सोधेको थियो।
आफूमाथि स्पष्टीकरण सोधेपछि प्रदेश सरकारका विनाविभागीय मन्त्री शाहीले आज विज्ञप्ती जारी गर्दै आँफू स्वतन्त्र सांसद भएकाले स्पष्टीकरणको कुनै औचित्य नभएको बताएका हुन्। 'मैले नेकपा एमाले पार्टी सदस्यता लिएको छैन। तसर्थ मलाई राजनीतिक पार्टीको ह्वीप लाग्दैन।' उनले भने।
२०७४ को निर्वाचनमा एमाले र हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहबीच भएको भएको २ बुँदे सहमती अनुसार उनी नवलपरासी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएर प्रदेश सभा सदस्य भएका हुन्। '२ बुँदे सहमती सम्झौता अनुसार मैले सूर्य चिन्ह प्रयोग गरि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएर निर्वाचित भएको सबैलाई जानकारी गराउँछु।' शाहीले भने 'स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सांसदलाई कुनै पार्टी विशेषको ह्वीप नलाग्ने कुरा राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले व्यवस्था गरेको समेत स्पष्ट पार्न चाहान्छु ।'
एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले भने शाहीको सांसद पद जाने गरि कारवाही हुने बताए। सुर्य चिन्ह एमालेको रहेको भन्दै अहिले स्वतन्त्र भन्न नमिल्ने उनको तर्क छ।