बुटवल-नेकपा एमालेका दुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् ।
विगतदेखि नैं नेपाल समूहमा रहेको बताइएपनि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार रहँदासम्म उनीहरू स्पष्ट रूपमा खुलेका थिएनन ।
एमाले नेतृत्वको प्रदेश सरकार परिवर्तनसँगै उनीहरु नेपाल समूहमा खुलेका हुन् । नेपाल निकट एमाले रुपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका हुन् । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुने भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।
‘सांसद पन्थीले आफू सूरुदेखि नैं माधव नेपाल समूहमै रहेको बताए । ‘म त पुस ५ पछि निरन्तर नेपाल समूहमै छु नि’ पन्थीले भने, ‘लुम्बिनीमा हामी शंकर पोखरेल नेतृत्वको सरकारलाई जोगाउन लागेको हो । पोखरेल सरकारलाई ढल्ल दिनुहुँदैन भनेर लागेको हो । तर, हामी माधव नेपाल निकट नै थियौं नि ?’
नेपाल समूहको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको हो । दुई दुुई पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए ।
भदौ १५ भित्र पालिकास्तर जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको नेकपा एमाले उपसचिव सिद्धिचरण भट्टराईले बताए ।
बैठकलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य डा. विजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता पर धकेलिएको बताएका थिए ।