बुटवल - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ। शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले दिउसो ३ बजेसम्मको समय दिएका छन्।
लुम्बिनीका नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन नयाँ सरकारका लागि दाबी पेश गर्न जाने कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए। गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसीलाई मुख्यमन्त्रीमा समर्थनसहित सरकार गठनका लागि दाबी खानले बताए। सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफुहरु प्रतिपक्षमा रहने जनाए।
प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ। प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ।
४ दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन्।
गठबन्धनका ठूला दल कांग्रेस र माओवादीबीच आठ-आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
गठबन्धनलाई मजबुत बनाउन र समान सहभागिताका लागि आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको कांग्रेस दलका नेता विरेन्द्र कानोडियाले बताए।
सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसी मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको कार्यकालको नेतृत्व कांग्रेस दलका नेता विरेन्द्र कानोडियाले गर्ने छन्।
४ दलीय गठबन्धनले नयाँ सरकार गठनसँगै नयाँ नीति, नयाँ कार्यक्रम र नयाँ योजना लिएर अघि बढ्ने माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बताए।
उनले भने-'हामी संघमा जसरी गठबन्धनले काम गरिरहेको छ, त्यसलाई पछ्याउँदै गठबन्धनलाई थप मजबुत र क्रियाशील बनाउँदै उदाहरणीय काम गरेर देखाउनेछौं, संविधान, विधि, पद्धति र कानुनको रक्षा गर्ने र प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काममा समेत एकसाथ अघि बढ्नेछौं।'
उनले पूर्ववत् एमाले सरकारले जस्तो विधि र पद्धति मिच्ने र संसदीय प्रक्रियाभन्दा बाहिर जाने काम नगर्ने बताए।
दोश्रोपटक एकल बहुमतीय सरकारको रुपमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारले अल्पमतमा परेर राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो।
तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएपछि सदनमा पेश भएको अविश्वासको प्रस्तावको कारबाही बीचमै रोक्दै मुख्यमन्त्रीको राजीनामाबारे प्रदेश प्रमुखको पत्र सुनाएर सकिएको थियो। त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आहृवान गरेका हुन्।
यसअघि लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्तावमा छलफल गर्नका लागि प्रदेश प्रमुख शेरचनले साउन २७ गते विशेष अधिवेशनको आह्वान गरेका थिए।
विशेष अधिवेशन आह्वान संविधान विपरीत भएको दाबी गर्दै लुम्बिनी प्रदेशका एमाले सांसद लिला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
तर रिटमाथि सुनुवाइ भएकै दिन प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भयो। तर अविश्वासको प्रस्ताव टुंगो नलाग्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्। सो मुद्दाको सुनुवाई अब संवैधानिक इजलासमा हुने भएको छ।