बुटवल- नेपालको भूगोलमा लिपुलेक, लिम्पियाधुरा र कालापानी थपिएको खुसीयालीमा प्रदेश ५ को राजधानी बुटवलसहित विभिन्न शहरमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको छ ।
बुटवलको ट्राफिकचोक, तिलोत्तमाको शंकरनगर, सिद्धार्थनगरको भैरहवा लगायत ठाउँमा दीप बालेर खुसीयाली मनाइएको हो । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ ।
बुटवलको ट्राफिकचोकमा सत्तारूढ दल नेकपाको आह्वानमा भएको कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दधिराम न्यौपाने (माधव) ले अब कालापानीबाट भारतीय सेनालाई हटाउन भारतसँगै वार्ता गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी ले खुसीयाली साट्न दीप प्रज्ज्वलन गरिएको बताए । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईले अब राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउदै अगाडि बढनुपर्ने बताए ।