बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका संसदीय दलका नेता विरेन्द्रप्रसाद कनौडियाले मुख्यमन्त्रीले राजिनामा दिएर लाज बचाएको टिप्पणी गरेका छन्। प्रदेश सभाको विशेष अधिवेसन अन्तर्गतको बैठकमा उनले नैतिकता गुमाएर सत्तामा टिकिरहेका मुख्यमन्त्रीले अन्तिम अवस्थामा आएर बचेखुचेको लाज भएपनि बचाएको उल्लेख गरे। 'अहिले सभामुखज्युले सुनाउनुभयो । उहाँले प्रदेशप्रमुख कहाँ गएर राजिनामा दिनुभएको छ । कम्सेकम बचेखुचेको लाज पनि उहाँले बचाउनुभयो ।' उनले भने 'त्यसको लागि म मुख्यमन्त्रीजीलाई धन्यवाद दिन चाहान्छु।'
अल्पमतमा परेपछि मुख्यमन्त्री पोखरेलले राजिनामा दिएर मार्गप्रशस्त गर्ने आशा गरेपनि त्यो नभएको कनौडियाले बताए। अल्पमतमा पर्ने वित्तीकै राजिनामा गरेको भए मुख्यमन्त्रीको उचाइ धेरै माथि हुने उनको भनाई छ । 'यही कुरा १५ २० दिन अघि गरेको भए उहाँको राजनीतिक उचाइ धेरै माथि हुन्थ्यो। आफ्नो राजनीतिक स्तरलाई, राजनीतिक व्यक्तीत्वलाई विगारेर अलिकती पनि आफ्नो राष्ट्रिय ब्यक्तित्व ख्याल गर्नुभएन ।' उनले भने ।