बुटवल- मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा छलफल गर्न आज लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन सुरु हुँदै छ। विशेष अधिवेसन अन्तर्गतको प्रदेश सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारे सत्तारुढ एमालेले ठोस निर्णय गरेको छैन । यद्यपी एमालेले अदालतको आदेश कुर्ने निर्णय गरेको छ।
बैठक बस्नु अघिसम्म अदालतको आदेश पर्खिने र त्यसपछि के गर्ने भन्ने बारे मुख्यमन्त्री आफैले निर्णय गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए।
मुख्यमन्त्रीले राजिनामा दिन्छन् कि अविश्वासको प्रस्तावको सामना गर्छन भन्ने कुरा स्पष्ट भइसकेको छैन । यस अघि आर्थिक वर्ष २०७८/७९ को बजेट निर्णयार्थ पेश हुन लाग्दा मुख्यमन्त्री बैठक छोडेर हिडेका थिए । त्यसरी नै आज सत्ता पक्षले बहिस्कार गर्ने हुन् कि भन्ने चर्चा पनि छ।
संघिय संसद होस या प्रदेश सभा प्राय बैठकमा सरकारका तर्फबाट मन्त्रीको उपस्थिती भएकै हुन्छ। नियमित अधिवेसनमा मन्त्री उपस्थित नभएमा बैठक स्थगित हुने गरको छ। तर अविश्वासको प्रस्ताव माथि छलफल गर्न बोलाइएको विशेष अधिवेसन अन्तर्गतको बैठक सत्तापक्षले बहिस्कार गरेमा के होला।
बैठक अघि बढ्न सक्ला या नसक्ला भन्ने जिज्ञाशा सुरु भएको छ। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले कार्यसूची अनुसार नै बैठक अघि बढ्ने बताए। ‘बैठक कार्यसूची अनुसार नै चल्छ । बहिस्कारको सूचना आएको छैन ।’ उनले भने।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ति मगरले सत्ता पक्षले बहिस्कार गरेपनि प्रदेश सभा बैठक चल्न नरोकिने बताए। ‘सरकारले नै प्रस्तुत गरेको विध्येक हुन्छ भने मन्त्रीको उपस्थिती अनिवार्य मानिन्छ । आज सरकार विरुद्ध नै आएको प्रस्ताव हो। उनले भने ‘संसदको सार्वभौम प्रश्न भएकाले सत्ता पक्ष आउन पनि सक्छन्, नआउन पनि सक्छन्। बैठक अघि बढ्न सक्छ ।’