बुटवल-नेकपा एमाले संसदीय दलले सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको छ।
हिजो मंगलबार हेर्न नभ्याइनेमा परेको एमाले सांसद लिला गिरीले दिएको मुद्दा आज अन्तरिम आदेश आउनसक्ने आशामा एमालेले संसद बैठक बस्नुअघिसम्म प्रतीक्षा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
उनका अनुसार अदालतबाट बैठक रोक्न अन्तरिम आदेश आएमा अरु कुनै निर्णय गर्नु परेन। 'अदालतबाट अन्तरिम आदेश आयो र बैठक चल्ने भएन भने थप निर्णय आवश्यक रहेन, यदि अन्तरिम आदेश आएन भने त्यसको निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई दिने निर्णय बैठकले गरेको छ।' एमाले सांसद गिरीले अविश्वासको प्रस्ताव र प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका छन्।
उनका अनुसार अदालतले अन्तरिम आदेश दिएन भने एमाले सांसदहरु सदनमा जानेछन्। तर सदनमा उपस्थित भएपछि सदन बहिस्कार गर्ने या अविश्वासको प्रस्तावको सामना गर्ने भन्ने निर्णय मुख्यमन्त्रीले गर्ने उनले बताए।
'सबै अधिकार मुख्यमन्त्रीलाई दिएपछि उहाँले जे भन्नुहुन्छ, त्योअनुसार दलले मान्ने भन्ने निर्णय भयो, अरु के के हुन्छ हामी छलफलमै छौं, उनले भने।
बैठकमा केही सांसदहरुले राजीनामा नदिएर संसदीय प्रक्रियाअनुसार अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने सुझाव दिएका छन्। यसअघि अविश्वासको प्रस्तावको सामना नगरेर आलोचित भएको शंकर पोखरेल नेतृत्वको सरकार यसपटक भाग्न नहुने तर्क उनीहरुको छ।
आजै दिउसो १ बजे सदनमा विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकोले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने या अविश्वासको प्रस्ताव फेस गर्ने भन्ने निर्णय लिन सकेका छैनन्।
रणनीतिक रूपमा सर्वोच्चमा रहेको रिट सुनुवाई पर्खिने र त्यतिबेलासम्म पनि केही नआए राजीनामा दिने सोच मुख्यमन्त्रीले बनाएको एमाले नेताहरूले बताए। मुख्यमन्त्रीले राजीनामा दिने भन्दै मुख्यमन्त्री निवास पुगेका जसपाबाट मन्त्री बनेका विजयबहादुर यादवको राजीनामा पनि रोकेका छन्।
यादवले भने-'हामीले राजीनामा दिने भन्ने कुरा पनि राखेको थिएँ, मुख्यमन्त्रीज्यूले संसदमा भन्दै आउनुभएको कुरा दोहोर्याउनुभयो, उहाँले अल्पमतमा परेपछि म एकछिनपनि बस्दिन भन्ने कुरा गर्नुभयो, यसबारे दलको बैठकबाट निर्णय लिएर हामीलाई जानकारी गराउने भन्नुभएको छ।'
जसपाबाटै मन्त्री बनेका सांसद सन्तोष कुमार पाण्डेले मंगलबार मन्त्रीबाट राजीनामा दिएका थिए।
प्रदेशसभामा कायम ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ।
तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन्। विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन्।
विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन्।