बुटवल-राजीनामाको मुड बनाएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सर्वोच्च अदालतको आदेश कुर्ने भएको छ।
हिजो मंगलबार हेर्न नभ्याइनेमा परेको एमाले सांसद लिला गिरीले दिएको मुद्दा आज अन्तरिम आदेश आउनसक्ने आशामा एमालेले मुख्यमन्त्रीको राजीनामाको विषय साढे १२ बजेसम्म होल्ड गर्ने भएको हो। गिरीले अदालतमा अविश्वासको प्रस्ताव र विशेष अधिवेशन रोक्न अन्तरिम आदेश माग्दै रिट दायर गरेका थिए।
बुधबार बिहानको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले सरकार अल्पमतमा परेको विषय स्वीकार गरेको र राजीनामाको बाटो उपयुक्त हुनसक्ने संकेत गरेको एक मन्त्रीले बताए।
तर, एमालेका केही मन्त्रीले भने राजीनामा नदिएर संसदीय प्रक्रियाअनुसार अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने सुझाव दिएका छन्। यसअघि अविश्वासको प्रस्तावको सामना नगरेर आलोचित भएको शंकर पोखरेल नेतृत्वको सरकार यसपटक भाग्न नहुने तर्क उनीहरुको छ।
यहीबीचमा अदालतमा आज रिटको सुनुवाई हुने र अन्तरिम आदेश आउनसक्ने आशामा शंकर पोखरेल सरकार छ।
आजै दिउसो १ बजे सदनमा विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकोले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने या अविश्वासको प्रस्ताव फेस गर्ने भन्ने निर्णय लिन सकेका छैनन्।
रणनीतिक रूपमा सर्वोच्चमा रहेको रिट सुनुवाई पर्खिने र त्यतिबेलासम्म पनि केही नआए राजीनामा दिने सोच मुख्यमन्त्रीले बनाएको एमाले नेताहरूले बताए।
यसअघि राजीनामा दिने भन्दै मुख्यमन्त्री निवास पुगेका जसपाबाट मन्त्री बनेका विजयबहादुर यादवको राजीनामा पनि मुख्यमन्त्रीले रोकेका छन्।
आफ्नो राजीनामा बुझाउने जानकारी गराएका उनलाई मुख्यमन्त्री पोखरेलले दलको बैठकपछि राजीनामा बुझाउने/नबुझाउने विषयमा जानकारी गराउने बताएका थिए।
उनले भने-'हामीले राजीनामा दिने भन्ने कुरा पनि राखेको थिएँ, मुख्यमन्त्रीज्यूले संसदमा भन्दै आउनुभएको कुरा दोहोर्याउनुभयो, उहाँले अल्पमतमा परेपछि म एकछिनपनि बस्दिन भन्ने कुरा गर्नुभयो, यसबारे दलको बैठकबाट निर्णय लिएर हामीलाई जानकारी गराउने भन्नुभएको छ।'
उनले सरकार अल्पमतमा रहेको महसुस गरेकाले मुख्यमन्त्रीको राजीनामा आजै आउनसक्ने प्रबल सम्भावना रहेको बताए। 'उहाँलाई दलको बैठकमा अरु कुनै उपयुक्त विकल्प आएमा मात्रै राजीनामा नआउन सक्छ, उनले भने-होइन भने उहाँ राजीनामा दिने मानसिकतामा हुनुहुन्छ।'
उनले आफुहरुले अदालतमा दिएको मुद्दाको टुंगो लाग्ने अनिश्चित भएको र अरु कुनै उपाय नरहेकाले सरकार स्पष्ट अल्पमतमा परेको बताए।
'हामीहरुले सर्वोच्चमा दिएको मुद्दा कहिले फाइनल हुने हो त्यो अनिश्चित छ, ४ महिना लाग्ला रे, अब त्यही कुरेर बस्ने कुरा पनि रहेन, उनले भने-एमालेको तर्फबाट दिएको मुद्दाको पनि सकारात्मक फैसला आउने सम्भावना देखिएन, त्यसैले सरकारसँग अरु विकल्प देखिएन।'
मंगलबार पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका लुम्बिनीका जसपा सांसद सन्तोष कुमार पाण्डेले मन्त्रीबाट राजीनामा दिएका थिए।
प्रदेशसभामा कायम ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ। तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन्। विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन्।
विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन्।