बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीहरुबीच राजीनामा दिने संकेत गरेका छन्।
आज बुधबार बिहान मुख्यमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनसक्नेबारे संकेत गरेको कृषिमन्त्री विजयबहादुर यादवले बताए।
आफ्नो राजीनामा बुझाउने जानकारी गराएका उनलाई मुख्यमन्त्री पोखरेलले दलको बैठकपछि राजीनामा बुझाउने/नबुझाउने विषयमा जानकारी गराउने बताएका थिए।
उनले भने-'हामीले राजीनामा दिने भन्ने कुरा पनि राखेको थिएँ, मुख्यमन्त्रीज्यूले संसदमा भन्दै आउनुभएको कुरा दोहोर्याउनुभयो, उहाँले अल्पमतमा परेपछि म एकछिनपनि बस्दिन भन्ने कुरा गर्नुभयो, यसबारे दलको बैठकबाट निर्णय लिएर हामीलाई जानकारी गराउने भन्नुभएको छ।'
उनले सरकार अल्पमतमा रहेको महसुस गरेकाले मुख्यमन्त्रीको राजीनामा आजै आउनसक्ने प्रबल सम्भावना रहेको बताए।
'उहाँलाई दलको बैठकमा अरु कुनै उपयुक्त विकल्प आएमा मात्रै राजीनामा नआउन सक्छ, उनले भने-होइन भने उहाँ राजीनामा दिने मानसिकतामा हुनुहुन्छ।'
उनले आफुहरुले अदालतमा दिएको मुद्दाको टुंगो लाग्ने अनिश्चित भएको र अरु कुनै उपाय नरहेकाले सरकार स्पष्ट अल्पमतमा परेको बताए।
'हामीहरुले सर्वोच्चमा दिएको मुद्दा कहिले फाइनल हुने हो त्यो अनिश्चित छ, ४ महिना लाग्ला रे, अब त्यही कुरेर बस्ने कुरा पनि रहेन, उनले भने-एमालेको तर्फबाट दिएको मुद्दाको पनि सकारात्मक फैसला आउने सम्भावना देखिएन, त्यसैले सरकारसँग अरु विकल्प देखिएन।'