बुटवल-विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बोलाएको एमाले संसदीय दलको बैठक बसिरहेको छ।
अहिले मुख्यमन्त्री निवास मिलनचोकमा मन्त्रिपरिषद बैठक सकिएपछि एमाले संसदीय दलको बैठक बसिरहेको छ। बैठकले कस्तो कदम चाल्ने भन्ने निर्णय गर्नेछ।
अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने दुईवटा सहज बाटो मुख्यमन्त्रीसामु छन्। यी दुइमध्ये राजीनामा दिन एमालेका केही सांसदले सुझाव दिएका छन्।
राजीनामा दिँदा नैतिकता प्रदर्शन हुने उनीहरुको सुझाव रहेको एमालेका एक नेताले जनाए।
तर मुख्यमन्त्रीनिकट केही सांसद भने प्रदेश सभाको बैठक बहिस्कार गरेर अघि बढ्नुपर्ने पक्षमा छन्। अदालतमा मुद्दा चलिरहेकाले प्रदेश सभाको बैठक रोक्न माग गर्ने र बैठक नरोकिए बहिस्कार गर्ने र अदालतको फैसलाको प्रतीक्षा गर्नुपर्ने उनीहरुको तर्क रहेको एक नेताले बताए। यसो गर्दा विपक्षीमाथि दबाब बढ्ने र विशेष अधिवेशन पनि अघि बढ्न नसक्ने उनीहरुको तर्क छ।
तर, यसबारे मुख्यमन्त्रीले व्यक्तिगत रुपमा निर्णय लिने ती नेताको भनाई छ। 'हामीले त सुझाव दिने हो, राजीनामा दिने, अविश्वासको प्रस्तावको सामना गर्ने या संसद रोक्ने उपाय खोज्ने भन्ने विषयमा मुख्यमन्त्रीको निर्णय हो, उनले भने।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो।
प्रदेश सभाबाट अविश्वासको प्रस्ताव पास हुने सम्भावना बढी रहेपछि उनले राजीनामाको बाटो रोज्ने श्रोतको दाबी छ।
बुधबार बिहानै सरकारमा सहभागी जनता समाजवादी पार्टीका २ मन्त्रीको राजीनामा दिने बताएपछि उनी थप दबाबमा परेका थिए।
मंगलबार पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका लुम्बिनीका जसपा सांसद सन्तोष कुमार पाण्डेले मन्त्रीबाट राजीनामा दिएका थिए।
प्रदेशसभामा कायम ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ। तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन्।
विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन्।