बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन आज बुधबार बस्दैछ।
विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए।
प्रदेश प्रमुख अमिक शेरचनले दिउसो १ बजे बैठक आह्वान गरेका छन्।
सो बैठकमा विपक्षी दलले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव पेश गर्नेछन्।
अविश्वासको प्रस्ताव छल्दै आएका मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्तावको सामना गर्छन् या राजीनामा दिन्छन् भन्ने विषय अझै अलमलमा छ।
जसबारे निर्णय गर्न सत्तारूढ दल एमालेले बिहान ८ बजेपछि दलको बैठक बोलाएको छ।
सो बैठकले आगामी कदमबारे निर्णय गर्ने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए। उनका अनुसार त्यसअघि मन्त्रिपरिषद बैठक बस्दैछ।
सदनमा अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना न्यून रहेकाले उनले त्यसअघि नै राजीनामा दिनसक्ने सम्भावना बढी छ।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक बोलाएकै दिन वैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
सोही दिन विपक्षीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दाबी पेश गरे पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै नियुक्त गरेका थिए।
वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख यादवले आवश्यक नरहेको भन्दै विशेष अधिवेशन आह्वान गरेका थिएनन्।
त्यसयता सत्तारूढ दल एमाले र विपक्षीबीच सासद तानातान चलिरहेको छ।
एमालेले जसपा र माओवादीका २ सांसद बन्धक बनाएको आरोप विपक्षीको छ भने विपक्षीले सत्ताकै लागि सासदहरूलाई राजीनामा गराएको आरोप एमालेले लगाएको छ।
लुम्बिनीमा हाल कायम प्रदेशसभा सदस्यहरुको संख्या ८० मध्ये सत्तारुढ दल एमालेका ३८ सांसद छन्। बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ।
विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन्।