बुटवल-सत्ता परिवर्तनको अन्तिम खेलमा रहेका लुम्बिनीका राजनीतिक दलहरु एकपछि अर्को रणनितिमा उत्रिएका छन्। सत्तापक्ष अदालतको शरणमा परेको छ भने विपक्षी गठबन्धनलाई बहुमत बचाउन हम्मेहम्मे परेको छ। विपक्षी गठबन्धनले सांसदहरुलाई एकठाउँबाट अर्को ठाउँ सार्दै सुरक्षित राख्ने प्रयास गरिरहेको छ।
सत्ताको आडमा आफ्ना सांसदहरुलाई प्रलोभनमा पार्ने, अपहरण र बन्धक बनाउने सम्भावना रहेकाले पनि एकै स्थानका होटलमा राखिएको विपक्षी गठबन्धनका एक सांसदले बताए।
सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखिएका विपक्षी गठबन्धनका ४१ सदस्यलाई मंगलबार पर्यटकीय क्षेत्र लुम्बिनीको ’लुम्बिनी बुद्ध गार्डेन’मा सारिएको छ।
बुधबार आह्वान गरिएको विशेष अधिवेशनका लागि तयारी एवं छलफल गर्न पायक पर्ने र प्रदेशसभा सदस्यहरु लुम्बिनी क्षेत्रमा भ्रमण गर्न पनि मिल्ने भएकाले सबै सदस्य लुम्बिनीमा राखिएको विपक्षी गठबन्धनका नेता तथा नेपाल कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले बताए। प्रदेशसभा सदस्यसहित गठबन्धनका सबै नेताहरुले मंगलबार दिनभर छलफल गरेका छन्।
विपक्षी गठबन्धनले बुधबार नै सबै टुंग्याउने तयारी गरेको छ। सत्ता पक्ष भने सर्वोच्चको आदेश नआएपछि अलमलमै परेको छ। प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएपनि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुन सकेन ।
सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले सरकारले सर्वोच्चको आदेश कुरेको बताए। उनले फैसला नआएकोले थप रणनिति बनाउन बुधबार बिहान ८ बजे संसदीय दलको बैठक बस्ने बताए।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन्। सरकारलाई सत्ता बचाउन बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ।
विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्।