बुटवल-लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । उनी पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीको कारबाहीमा परेर सांसद पदबाट मुक्त भएका थिए।
सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताए।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।
जनता समाजवादी पार्टीको आपत्ति
जसपा संसदीय दलको वैठकको निर्णय अनुसार राजीनामा दिएको भनी पाण्डेले गरेको प्रचारप्रति पार्टीले आपत्ति जनाएको छ । जसपा संसदीय दलका नेता सहषराम यादवले सरकार ढल्ने निश्चित भएपछि पाण्डेले आफूखुशी राजीनामा दिएको हुनसक्ने बताए ।
‘पार्टी संसदीय दलको नेता म हुं, दलको बैठक आज बसेकै छैन’–यादवले भने–‘पदका लागि जे पनि गर्न तयार हुने चरम अवसरवादीले पार्टीको नाम दुरुपयोग गर्नु आपत्तिजनक छ।’ नेता यादवले आइन्दा पार्टीको नाम दुरुपयोग गरेको पाइएमा कानूनी कारवाही गर्ने पाण्डेलाई चेतावनी दिए ।