बुटवल- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सर्वोच्चमा दायर भएको रिटको प्रारम्भीक सुनुवाइको लागि आज पेशी तोकिएको छ। विशेष अधिवेसन आह्वान विरुद्ध सत्तापक्ष एमालेका तर्फबाट प्रदेश सांसद लिला गिरीले प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
उक्त रिटको सुनुवाइ न्यायाधीस प्रकाशमानसिंह राउतको इजलाशमा तोकिएको छ। राउतकाे इजलाश परेका पेशिको सुचीको दसौं नम्बरमा विशेष अधिवेसन आह्वान विरुद्धको रिट रहेको छ। यसअघि विशेष अधिवेशन रोक्न अधिवक्ता प्रवेश केसीले रिट पेश गरेका थिए । उक्त रिट सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले दरपीठ गरिदिएका थिए।
त्यसपछि लुम्बिनी प्रदेशको सत्तारुढ दल एमालेकै सांसद अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत गएका हुन्।संविधानको धारा १८८(४) अनुसार मुख्यमन्त्रीको नियुक्त भएको दुई बर्षभित्र अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था भएकाले प्रदेश प्रमुखले विषेश अधिवेशन आह्वान गर्न नपाउने भन्दै रिट दायर गरिएको रिट निवेदक गिरीले बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।