बुटवल- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशनविरुद्ध सत्तापक्ष नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
सत्तापक्षका तर्फबाट सांसद लिला गिरीले प्रदेश प्रमुख कार्यालयलाई विपक्षी बनाएर विशेष अधिवेशनविरुद्ध रिट दायर गरिएका हुन् ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले एमालेले दायर गरेको रिट दर्ता भइसकेको र भोली मंगलबार प्रारम्भिक सुनुवाईका लागि पहिलो पेशी चढ्ने बताए ।
यसअघिविशेष अधिवेशन रोक्न शंकर पोखरेल नेतृत्वको सरकारले अदालतमा यसअघि कानुनव्यवसायीलाई पठाएको थियो।अधिवक्ता प्रवेश केसीले अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेश गरेको रिट सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले दरपीठ गरिदिएका थिए।
त्यसपछि लुम्बिनी प्रदेशको सत्तारुढ दल एमालेकै सांसद अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत गएको हो। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र प्रदेश सभाको विशेष अधिवेशन रोक्नुपर्ने सत्तारुढ दल एमालेको माग छ।
संविधानको धारा १८८(४) अनुसार मुख्यमन्त्रीको नियुक्त भएको दुई बर्षभित्र अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था भएकाले प्रदेश प्रमुखले विषेश अधिवेशन आह्वान गर्न नपाउने भन्दै रिट दायर गरिएको रिट निवेदक गिरीले बताए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।