बुटवल -लुम्बिनी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेसन आह्वान विरुद्ध सवोच्च अदालतमा रिट पेश भएको छ। पेश भएको रिट दर्ता हुन भने बाँकी छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले त्यस माथि छलफलका लागि विशेष अधिवेसन बोलाउन समावेदन गरेका थिए।
विपक्षी दलहरुको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेको लागि प्रदेश सभाको विशेष अधिवेसन अह्वान गरेका छन् । अधिवेसन आह्वान विरुद्ध अधिवक्ता प्रवेश केशी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्। तर उनको रिट भने दर्ता भएको छैन ।
रिटको अध्ययन भइरहेको र आइतबार दर्ता हुने नहुने टुंगो लाग्ने सवोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले लुम्बिनी टाइम्सलाई बताए। 'रिट अदालतमा आएको छ, दर्ता भइसकेको छैन। सार्वजनिक सरकारको विषय हो भनेर रिट लिएर आउनुभयो।' उनले भने 'सावर्जनिक सरोकारकै विषय हो कि अथवा यसमा मुख्यमन्त्री र उहाँसँग सम्बन्धीत पक्ष नै आउनुपर्ने हो, त्यो अध्ययन गरिरहेका छौं। आइतबार दर्ता हुने नहुने टुंगो लाग्छ।' सवोच्च प्रसासनलाई यो विषय सार्वजनिक सरोकार हो भन्ने नलागेमा प्रदेश सरकार आँफै अदालतमा जानुपर्ने हुन्छ ।
अविश्वासको प्रस्तावको लागि प्रदेश सभाको विशेष अधिवेसन आह्वान भएपछि प्रदेश सरकार र सत्तापक्ष एमालेले प्रदेश प्रमुखको कदम असंवैधानिक भएको भन्दै विरोध गरेको छ । 'संविधानको धारा १८८ को ४ अनुसार २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन। त्यसलाई वेवास्ता गरेर उहाँले अधिवेसनको मिती तोक्नुभएको छ।’ लुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चाैधरीले भने ‘अर्को कुरा ३ जना मन्त्रीहरुको सांसद पद पदमुक्त भएको सुचना टाँस भएको छ। त्यसको विरुद्ध उहाँहरु अदालत जानुभएको छ । अहिले त सांसद संख्या ८० छ । अदालतको आदेश पछि अर्को हुन सक्छ । अविश्वासको प्रस्तावलाई कुन संख्यालाई मान्ने।’
विपक्षी दलहरुले भने मुख्यमन्त्री अबैध तरिकाले नियुक्ती भएकाे र अल्पमतमा रहेको बताउँदै आएका छन् । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध उनीहरुले मंगलबार तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरि प्रदेश प्रमुख समक्ष विशेष अधिवेसनको लागि समावेदन गरेका थिए। सोही अनुसार प्रदेश प्रमुखले विहीवार प्रदेश सभाको विशेष अधिवेसन आह्वान गरेका हुन्।