बुटवल- राष्ट्रिय सभाको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलाई कारवाही गर्नुपर्ने माग उठेको छ । माओवादी केन्द्रकी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीलाई बन्धक बनाएर राखेको भन्दै राष्ट्रिय सभामा शुक्रवार जसपाकी सांसद प्रमिलाकुमारीले कारवाहीको माग गरेकी हुन्।
उनले अपहरणकै शैलीमा मुख्यमत्री निवासमा पु¥याएर ५ दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक भएको उल्लेख गरिन्। 'मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरण गरेको सैलीमा मुख्यमन्त्रीको निवासमा पुर्याएर ५ दिनसम्म बन्धक बनाएर राख्नु खेदजनक छ।' प्रमिलाले भनिन् 'लुम्बिनी प्रदेशका मुख्यमन्त्री आँफै संलग्न भइ कानून विपरित कार्य गरिरहेको हुँदा कारवाहीको जोडदार माग गर्दछु।'
उनले अविश्वासको प्रस्तावको सामना गर्न नसक्ने बजेट पेश गर्न नसक्ने संसद बहिस्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने ओली सरकार जस्तै मुख्यमन्त्री पोखरेल पनि त्यस्ता कार्यमा आँफै संलग्न भएको आरोप लगाइन्।
एक हप्ता सम्पर्क विहिन भएकी प्रदेश सांसद विमलाकुमारी खत्री वली विहिवार पत्रकार माझ सार्वजनिक भएकी थिइन। उनले आफू मुख्यमन्त्री कार्यालयमा बन्धक भएर बस्नुपरेको सुनाएकी थिइन।