बुटवल- लुम्बिनी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेसन आह्वान विरुद्ध सवोच्च अदालतमा रिट दायर हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले त्यस माथि छलफलका लागि विशेष अधिवेसन बोलाउन समावेदन गरेका थिए।
विपक्षी दलहरुको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेको लागि प्रदेश सभाको विशेष अधिवेसन अह्वान गरेका छन् । अधिवेसन आह्वान विरुद्ध केही कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए्। ‘प्रदेश सरकार त अदालत गएको होइन, कानूनका जानकार अधिवक्ताहरु आफ्नै हिसावले अदालतमा जाँदै हुनुहुन्छ।' उनले भने ‘मुद्दाको कागज हिजो लेखापढी भइसकेको छ। मलाई लाग्छ आज सर्वोच्चमा दर्ता हुँदैछ।’ तर को कानून व्यवसायी अदालत जादैँछन भनेर नाम भने मन्त्री चौधरीले बताएनन्।
प्रदेश सरकारका प्रवक्ता चौधरीले अविश्वासको प्रस्तावका लागि प्रदेश सभा अधिवेसन आह्वान हुनु असंवैधानिक भएको बताए । संविधानको धारा १८८ को ४ अनुसार २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन। त्यसलाई वेवास्ता गरेर उहाँले अधिवेसनको मिती तोक्नुभएको छ।’ उनले भने ‘अर्को कुरा ३ जना मन्त्रीहरुको सांसद पद पदमुक्त भएको सुचना टाँस भएको छ । त्यसको विरुद्ध उहाँहरु अदालत जानुभएको छ । अहिले त सांसद संख्या ८० छ । अदालतको आदेश पछि अर्को हुन सक्छ । अविश्वासको प्रस्तावलाई कुन संख्यालाई मान्ने।’