बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी गठबन्धनकै कारण ८७ सदस्यीय प्रदेश सभा ८० सदस्यीय भएको बताएका छन्। उनले कांग्रेस, माओवादी केन्द्र लगायत विपक्षी दलले सांसदहरुलाई फकाएर, अनुशासनको डण्डा चलाएर र दल परिवर्तन गराउँदा अहिलेकाे अवस्था आएको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा उनले प्रदेश सभामा सांसदहरुको संख्या घट्नुको जवाफ इतिहासले खोज्ने बताए।
'दुईजना माननियलाई 'फकाएर' राजिनामा गराउन सक्ने, ६ जनालाई 'अनुशासन'को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई 'दल' परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई 'अपहरण'को आरोप पनि लगाउन पठाएछ । ८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।' उनले लेखेका छन्।
विमलाकुमारी वली खत्रीले हिजो पत्रकार माझ आफू मुख्यमन्त्री कार्यालयमा बन्धक बन्नुपरेको कुरा बताएपछि पोखरेलको उक्त प्रतिक्रिया आएको हो । केही दिन सम्पर्कविहीन भएकी विमलाकुमारी खत्री विहिवार पत्रकार माझ सार्वजनिक भएर आफू माओवादी केन्द्रमै रहेको बताएकी थिइन्।