बुटवल - नेकपा एमालेले प्रदेश सांसद विमला खत्री वलीलाई बन्धक बनाइएको कुरामा कुनै सत्यता नभएको बताएको छ । विगत केही दिनदेखी सम्पर्क विहिन भएकी खत्रीले आज पत्रकार माझ सार्वजनिक भएर आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बताएकी थिइन् । एमालेले आजै पत्रकार सम्मेलन गरेर खत्रीको कुराको खण्डन गरेको छ।
पत्रकार सम्मेलनमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले विमला खत्रीलाई राजीखुशी अनुसार नै व्यवहार गरेको बताए । उनले एमालेलाई बद्नाम गराउनको लागि बन्धक बनाएको भनेर चर्चा भएको उल्लेख गरे। ढकालले खत्री एमालेमा आउन पनि राजिभएको जानकारी दिए । ‘मुख्यमन्त्रीसँग धेरै कुरा भएपछि उहाँले म अब एमालेमा फर्किन्छु भन्नुभयो ।’ उनले भने ‘मुख्यमन्त्रीलाई उहाँले मेरा मुद्दाको विषय उठाउनुभयो। तपाई मेरो अभिभावक हो भन्नुभएको थियो ।’
ढकालले प्रदेश सांसद खत्रीलाई राजिखुशी नै दाङबाट बुटवल ल्याएको बताए । ‘त्यतीका लामो बाटो थियो । उहाँसँग मोबाइल थियो । दिदीसँग आनन्दले एउटै सिटमा बसेर आउनुभएको थियो ।’ उनले भने । बुटवलमा विमलालाई अन्तै बस्ने व्यवस्था गरे पनि उनकै इच्छा अनुसार मुख्यमन्त्री निवासमा राखीएको ढकालले दाबी गरे ।